रूसमा कन्सर्ट हलमा आक्रमण, ६० जनाको मृत्यु
रूसको राजधानी मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा बन्दूकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
गएराति मस्कोको क्रोकस सिटी हलमा भएको हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आईसीआर)ले पुष्टि गरेको छ। घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आईसीआरले जनाएको छ।
आन्तरिक मामिला मन्त्रालय र संघीय सुरक्षा सेवाको परिचालन एकाइहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ। शवको जाँच भइरहेको छ भने घटनास्थलबाट हतियार र गोलाबारुद सहितका सामग्री नियन्त्रणमा लिइएको छ।
घटनास्थलमा रहेका आरआईए नोभोस्तीका अनुसार नकाबधारी आक्रमणकारीले भवनभित्र पसेर एक्कासि गोली चलाएका थिए। भीडमा विस्फोटक पदार्थ फ्याँकेका थिए।
मस्कोको उत्तरी क्रास्नोगोर्स्क उपनगरमा रहेको क्रोकस सिटी हलमा आक्रमणपछि धुवाँको मुस्लो भरिएको र त्यसपछि आगोको ज्वाला फैलिएको थियो। आक्रमण हुँदा घटनास्थलमा पुगेका संगीतकर्मी एलेक्सीले भने, “कन्सर्ट शुरू हुनुभन्दा केही समय पहिले एक्कासि गोली र भीडमा व्यापक कोलाहल सुनिएको थियो।”
होहल्ला लगत्तै त्यहाँ स्वचालित हतियारबाट गोली चलाइएको जनाइएको छ। “सम्भवतः यो रूसको इतिहासमा निकै विनाशकारी आतंककारी आक्रमणमध्ये एक हो,” उनले भने।
मानिसहरू आपत्कालीन निकासतर्फ दौडिंदै गर्दा कन्सर्टमा जानेहरू एकअर्काको टाउकामा चढेर बाहिर निस्किएको जनाइएको छ। रूसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पाँच बालबालिका सहित ११५ जनालाई अस्पताल भर्ना गरिएको र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। आक्रमणमा घाइते भएका ११० जना वयस्क व्यक्तिमध्ये ६० जनाको अवस्था गम्भीर छ।
राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी समाचार एजेन्सीहरूलाई बताए अनुसार आक्रमणबारे अनुसन्धान शुरू गरिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणपछि निरन्तर जानकारी लिइरहेको जनाइएको छ।
रूसको न्याशनल गार्डले घटनास्थलमा रहेको र आक्रमणकारीको खोजी भइरहेको जनाएको छ। एएफपीका एक संवाददाताले खोजी कुकुर सहित प्रहरी अधिकारीले भवनको छेउमा पार्किङ गरिएका सवारी साधनको निरीक्षण गरिरहेको बताएका छन्।
इस्लामिक स्टेट समूहले आफ्ना लडाकूले मस्कोको बाहिरी इलाकामा ‘ठूलो जमघट’ मा आक्रमण गरेको र सकुशल आफ्नो अखडामा फर्किएको दाबी गरेको छ।