निर्माण शुरू भएको सात वर्षपछि पुलको डिजाइन परिवर्तन
ठेक्का लागेर निर्माण शुरू गरिएको सात वर्षपछि खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाट मोटरेबल पुलको डिजाइन परिवर्तन गरिएको छ।
२०७६ सालमै बनिसक्नुपर्ने खोटाङको बराहपोखरी गाउँपालिका-२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका-१४, साउने जोड्ने धाप्लाङघाट पुलको डिजाइन अहिले आएर फेरिएको हो। पुलको करीब १५ प्रतिशत काम भएपछि निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीको अनुकूलमा सडक विभागले डिजाइन परिवर्तन गरेको हो।
डिजाइन ‘रिभ्यू’ स्वीकृत भएसँगै निर्माण व्यवसायीले गत फागुन २८ गतेदेखि धाप्लाङघाटमा पुल बनाउन शुरू गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका योजना प्रमुख इन्जिनीयर दारोगा प्रसादले बताए। डिजाइन परिवर्तनसँगै पुलको चार वटा ‘वेल’ फाउन्डेशनको सट्टामा चार वटा ‘पाइल’ फाउन्डेशन ठड्याइनेछ।
ठेकेदारले प्राविधिक रूपमा ‘वेल’ फाउन्डेशन बनाउन कठिन भएको भन्दै ‘पाइल’ फाउन्डेशन प्रविधिको पुल निर्माण गर्ने गरी डिजाइन ‘रिभ्यू’ का लागि गत साउन १५ गते सडक विभागसँग माग गरेको थियो।
रसुवा एसएनएस पप्पु जेभीले २०७६ असार २९ गतेभित्र सम्पन्न गर्ने गरी २०७३ असार ३० मा धाप्लाङघाटमा २०० मिटर लम्बाइ हुने पुल निर्माणको सम्झौता गरेको थियो। तर म्याद नाघेको चार वर्ष बित्दा ठेकेदारले नदीको दुई किनारमा पिलर मात्र ठड्याएको देखिन्छ। ढिलासुस्ती गर्ने निर्माण कम्पनीको चार करोड ४२ लाख अग्रिम भुक्तानी जमानत भने विभागले तानिसकेकाे छ।
खोटाङ र उदयपुरतर्फ वर्षौंअघि सडक बनिसकेको भए पनि हालसम्म धाप्लाङघाटमा पुल नहुँदा झोलुंगे पुल प्रयोग हुँदै आएको छ।
धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि तथा नगदे बाली निर्यातका क्रममा लोड-अनलोड गर्दा किसानले थप व्ययभार खेपिरहेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा बताउँछन्। “नदीमा सवारीसाधन वारपार गर्ने अवस्था छैन,” बञ्जरा भन्छन्, “पुल तार्न पैसा तिरेर सामान लोड-अनलोड गर्नुपर्ने बाध्यता छ।”