हाब्रेको अध्ययनमा जापानी चिडियाखानाले सघाउने
जापानी शहर फुकुओकाको एक चिडियाखानाले नेपालको हाब्रे (रेड पान्डा) संरक्षणमा सहयोग गर्ने भएको छ।
हाब्रे संरक्षणमा काम गर्ने रेडपान्डा नेटवर्कसँग ओमुता सिटी जूले शुक्रबार सम्झौता गरेको हो। काठमाडौंमा आयोजित एक कार्यक्रममा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पा र सिटी जूकी प्रवक्ता डा. कानाको तोमिसावाले समझदारीपत्र आदानप्रदान गरेका छन्।
सम्झौता अनुसार जापानी चिडियाखानले रेडपान्डा संरक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यस क्रममा जापानको चिडियाखानामा चन्दा बाकस राखी अवलोकनकर्ताबाट समेत चन्दा संकलन गरिने डा. तोमिसावाले जानकारी दिइन्। उनले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गर्न पाउँदा खुशी लागेको बताइन्।
नेटवर्कका कार्यकारी निर्देशक शेर्पाले जापानको चिडियाखानासँगको सहकार्यले नेपालको रेड पान्डा संरक्षणमा नयाँ अभ्यास थालनी हुने बताए। उनका अनुसार रेड पान्डाको गतिविधि अवलोकनका लागि रेड पान्डा संरक्षित क्षेत्रमा क्यामेरा जडान गरिनेछ। साथै, रेडपान्डा संरक्षणका लागि स्थानीय सरकारका प्रतिनिधि, सर्वसाधारण र विद्यालयका बालबालिकाबीच सचेतनामूलक गतिविधि गरिनेछ।
रेड पान्डा निश्चित क्षेत्रमा एक्लै बस्न रुचाउने वन्यजन्तु हो। विशेषतः एउटा पोथी रेड पान्डा एउटा क्षेत्रमा एक्लै बस्छ। भालेको पनि आफ्नै निश्चित क्षेत्र हुन्छ। तर भाले चाहिं संसर्गको मौसममा तीन-चार वटा पोथीको क्षेत्र चहार्छ।
सुरक्षाका दृष्टिले यसका लागि जनवरीदेखि अप्रिलसम्मको समय संवेदनशील हो। यो समय यसको संसर्गको समय हो र यस वेला एउटा भाले तीन-चार वटा पोथीको वासस्थानमा पुग्छ।
पोथीहरू छुट्टाछुट्टै बस्ने भएकाले भालेले निकै दूरी तय गर्नुपर्छ। यस्तो वेला मानिस र अन्य जीवजन्तुसँग यसको जम्काभेट हुने सम्भावना हुन्छ।
त्यस्तै, अर्धवयस्क बच्चाहरू फेब्रुअरीमा आमालाई छाडेर नयाँ वासस्थान खोज्न निस्किंदा पनि धेरै दिनसम्म यात्रा गर्छन्।
हाब्रे राति पनि हिंडडुल गर्ने र विशेषतः बिहान-बेलुका बढी सक्रिय हुने प्राणी हो। यसले गाउँघरमा निगालो भनिने चार-पाँच मिटरसम्म अग्लो हुने ड्रेपानोस्टाचियम, हिमालयकालामस, थाम्नोकालामस र गाउँघरमा मालिंगो भनिने युशानिया जातका वनस्पतिका पात र टुसा रुचाउँछ।
“हाब्रे जोगाउन निगालो र मालिंगोको जंगल जोगाउने तथा त्यस्ता जंगलमा मानिसको आवतजावत रोकिनुपर्छ,” नेटवर्कका सोनाम टासी लामा भन्छन्, “जनवरीदेखि अप्रिलसम्म रेड पान्डाका निम्ति जोखिमयुक्त छ भन्ने सन्देश सरकारी निकाय, संरक्षणसँग सम्बद्ध संघसंस्था र विद्यालय तहबाट प्रचार गरिनुपर्छ। यो काममा परियोजना प्रभावकारी हुने आशा छ।”