बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारका नाममा कायम
चाँदबाघ रेजिडेन्सी रहेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फेरि सरकारका नाममा कायम गरिएको छ।
भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले शुक्रबार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारका नाममा कायम गरेको हो। मालपोत कार्यालयले भनेको छ, ‘मालपोत ऐन, २०३४ को दफा २४ बमोजिम भूमिसुधार तथा मालपोत कार्यालयको मिति २०८०/१२/०९ को निर्णयले नेपाल सरकारको नाउँमा कायम गरिएको।’
मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा २ मा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्तिविशेषको नाममा दर्ता गरी आवाद गरिएको भएमा त्यस्तो दर्ता स्वत: बदर हुने उल्लेख छ। यससँगै त्यस्तो जग्गाको व्यक्तिविशेषको नाममा रहेको दर्ता लगत समेत मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले कट्टा गर्ने व्यवस्था गरिएको छ।
यही व्यवस्था अनुसार मालपोत कार्यालयले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारका नाममा कायम गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को पत्रका आधारमा सरकारमा नाममा ल्याइएको मालपोत कार्यालयले जनाएको छ।
सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गाका विषयमा अनुसन्धान गरिरहेको थियो। यसमा चैत ८ मा सांसद विनोद चौधरीसँग बयान लिएको थियो। त्यसअघि सांसद चौधरीका भाइ अरुण चौधरी लगायत तीन जनालाई पक्राउ गरेको थियो। उनीहरू जिल्ला अदालत, काठमाडौंको आदेशमा छुटेका थिए।
सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारी कागजात कीर्ते गरेर च्याम्पियन फूटवेयर लिमिटेडको नाममा लगेको पाइएको जनाएको थियो। त्यही जग्गामा अहिले चाँदबाघ रेजिडेन्सी सञ्चालन भइरहेको छ।