‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
‘पञ्चायती शासनका वेला व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि समीक्षा गरेर लेखिन्छ।’
२०४० सालमा सरकारी सेवामा प्रवेश गरेर विभिन्न जिम्मेवारीमा रहेका पूर्व सचिव दिनेश थपलिया हाल प्रमुख निर्वाचन आयुक्त छन्। जनप्रशासन विषयमा स्नातकोत्तर गरेका उनले नेपालमा विकेन्द्रीकरण तथा स्थानीय स्वायत्त शासन : उपलब्धि र चुनौती (२०५७) पुस्तक लेखेका छन्। पेशाले निजामती सेवामा भए पनि गीत र कविता लेखनमा उनको रुचि छ।
उनका ‘मायालु तिमी कता छौ’ र ‘माछीले खाने खोलीको लेउ’ गीत चर्चित छन्। हालै उनको म गाउँ फर्किन्छु कवितासंग्रह प्रकाशनमा आएको छ। कविता र गीतलेखन तथा साहित्य यात्रामा केन्द्रित रहेर हिमालखबरको स्तम्भ किताबका कुरामा थपलियासँग अनिता भेटवालले गरेको कुराकानीको सम्पादित अंश :
प्रमुख निर्वाचन आयुक्तका रूपमा तपाईंले प्रायः अन्तर्वार्तामा चुनावको तयारी, यसको व्यवस्थापन, उम्मेदवार, आचारसंहिता लगायत विषयमा कुरा गर्नुहुन्थ्यो। आज साहित्य र किताबको कुरा गर्न लाग्दा कस्तो लागिरहेको छ?
साहित्य र साहित्यिक कृतिबारे यो मेरो पहिलो वार्ता हो। त्यसैले उत्साहित छु, र थोरै संकोच, असहज पनि लागिरहेको छ। फरक पहिचानमा रहेको व्यक्ति फरक ढंगले आउँदा कत्तिको स्पष्ट रूपमा भन्न सकुँला भन्ने लागेको छ। यद्यपि सम्पूर्ण विषयमा आफ्ना कुरा राख्नेछु।
सबै मानिस युवावस्थामा एक पटक कवि हुन्छन् भनिन्छ। तपाईंले पनि २०४० साल ताका धेरै कविता लेख्नुभएको देखिन्छ। यो कवितासंग्रहलाई तपाईंको युवाकालीन भावनाको सँगालो भन्न मिल्छ?
म संखुवासभामा जन्में, हुर्कें। २०३६ सालमा एसएलसी पास गरेर काठमाडौं आउँदा मेरा पनि केही थान सपना थिए। तर त्यो सपनामा कवि, साहित्यकार बनुँला र यसमै लागेर प्रतिष्ठित जीवन बाँचुँला भन्ने चाहिं थिएन। स्कूले जीवनदेखि नै कविता, मुक्तक, गीत लेख्ने रुचि थियो। शोखका रूपमा लेख्दै गएँ।
यसै क्रममा विद्यार्थी जीवनदेखि वयस्क हुँदै गर्दा २०४० देखि २०६३ सालसम्म लेखेका कविताहरू यो वर्ष संग्रहमा ल्याएको हुँ। मेरो बाल्यकाल, युवावस्था र वयस्कताको शिखर लाग्दै गर्दाको जीवन भोगाइ, काम र अनुभवको असन्तुलित विचार शृंखला हो यो। असन्तुलित भन्नुको अर्थ म काममा एकथोक छु, व्यवहारमा अर्को गर्नुपर्छ तर भावनामा अर्को छु। संग्रहका कवितामा मेरा यिनै अवस्थाको वर्णन छन्।
तपाईंले किताबको भूमिकामा ‘उपन्यास पढ्न हुँदैन, मति बिग्रिन्छ’ भनिने समयबाट आफू आएको भन्नुभएको छ। त्यस्तो वातावरणमा साहित्यमा लगाव कसरी भयो?
हामी विद्यालय पढ्दा पुस्तकालय थिएन। संखुवासभा बजारमा एउटा पुस्तकालय थियो। तर विद्यार्थीलाई प्रवेश थिएन। गाउँबाट पढ्न धरान, विराटनगर, काठमाडौं बसेका गाउँले दाजुहरूले चाडबाडमा फर्कंदा साहित्यिक किताबहरू ल्याउँथे। ती किताब लुकेर पढ्थ्यौं। त्यस वेला उपन्यास पढ्नु राम्रो होइन भन्थे। तर त्यो किशोर उमेरमा जे गर्न हुँदैन भन्थे, त्यही गरौं लाग्थ्यो। त्यस वेला जस्तो किताब पाइयो त्यही पढियो। अहिले सम्झँदा समाजको यथार्थ चित्रण भएका ती किताब पढेर राम्रै गरिएछ भन्ने लाग्छ।
विद्यालयको भित्तेपात्रोमा छापिने रहर र प्रतिस्पर्धाले कविता लेखियो। रेडियोमा कवितावाचन गर्ने लोभले लेखियो। त्यसो गर्दा गर्दा रुचि गहिरियो। मुक्तक र आधुनिक गीत पनि लेख्न थालियो। पढ्न काठमाडौं आइयो, एउटा समयमा जागीरको दौडाहा शुरू भयो। २०४० पुस २ गते नियुक्ति लिएदेखि अहिलेसम्म सरकारी सेवामै छु। काममा लागिरहँदा थकान र तनावले थिचेको वेला भावना पोख्ने माध्यम कहिले कविता र कहिले गीतलाई बनाउँदै आएँ।
जागीरको सिलसिलामा तपाईं विभिन्न जिल्ला पुग्नुभयो, त्यहाँ कविताहरू लेख्नुभयो। त्यस वेलाका कवितासँग जोडिएका यादगार पृष्ठभूमि कस्ता छन्?
मेरा प्रत्येक कवितासँग फरक फरक कथा जोडिएका छन्। जस्तै- २० वर्षको उमेरमा संखुवासभामा जागीरे थिएँ। त्यस वेला युगकवि सिद्धिचरण श्रेष्ठको कविता ‘मेरो प्यारो ओखलढुंगा’ निकै चर्चित थियो। त्यसले मलाई ‘मेरो प्यारो संखुवासभा’ लेख्न हौस्यायो। पछि पुस्तक छाप्ने वेला यसको शीर्षक फेरुँ कि जस्तो लाग्यो। तर भर्खरको युवावयमा जसरी मैले सोचें, जे देखेर लेखें, त्यसमा अहिले बनावटी कुरा राखेर पाठकलाई धोका दिन चाहिनँ।
त्यस्तै, ६ वर्षसम्म ओभरसियरको जागीर खाँदाको अनुभव लेखेको लामो कविता छ, ‘ओभरसियर’। यो कविता कुनै प्राविधिकले पढ्यो भने ‘दिनेश थपलियाले मेरो पीडा बुझेछ’ भन्नेछ। किनभने मैले त्यसमा यथार्थ लेखेको छु।
२०५८-५९ सालमा चितवनको स्थानीय विकास अधिकारी थिएँ। सशस्त्र युद्धको जगजगी भएको त्यस वेला सरकारी कर्मचारी माओवादीको तारोमा थिए। सुरक्षा निकाय र कर्मचारीबीच कुरा हुँदा कुनै पनि वेला आक्रमण हुन सक्ने भएकाले राति अन्यत्रै गएर बस्नू भन्ने कुरा आयो। मेरा दुई सन्तान र श्रीमती साथमै थिए। अन्य विशेष सुरक्षा केही थिएन। त्यस वेला पनि मर्नसँग डर लागेन। हरेक प्राणी जन्मँदै मुत्यु लिएर आएको हुन्छ, मिति थाहा नहुने मात्र हो।
त्यसैले मृत्युसँग भागेर कहाँ जाने भन्ने लाग्यो। त्यही भावना ‘मृत्युलाई सलाम’ भन्ने कवितामा लेखें। त्यसमा ‘सुरक्षा दिनेहरू आफैं सुरक्षा खोजिरहेका छन्’ भन्ने भाव पनि परेछ। त्यो कविता नेपाल म्यागजिनमा छापिएपछि धेरैतिरबाट सोधखोज भयो। तर मैले कर्मचारीभन्दा माथि उठेर जे देखें, त्यही लेखेको थिएँ।
तपाईंलाई कस्ता कुराले लेख्न प्रेरित गर्छन्?
मलाई पीडा हुँदा दुई कुराबाट शान्ति मिल्छ। एउटा, गीत सुन्दा र अर्को, किताब पढ्दा। मन हल्का भएपछि भावना व्यक्त गरूँ लाग्छ। यस्तै शासन, प्रवृत्ति र समाजको अवस्थादेखि विरक्ति लाग्दा पनि भावना पोख्न मन लाग्छ। देशमा यत्रा परिवर्तन भए, तर हामी उही अवस्थामा छौं, परिवर्तनहरूले हामीलाई किन छुन सकेनन् भनी व्यंग्य गरेर पनि लेख्छु। आफैं सार्वजनिक पदमा भएकाले कति त मेरा कविताहरूले मैलाई व्यंग्य गर्छन्।
कविता लेखनको विषयवस्तु केले फरक पार्छ?
म त्यो समयमा कविता लेख्थें, जति वेला विद्यालय जाँदा कहिल्यै जुत्ता-चप्पल लगाउन पाइनँ। म कक्षा १० को परीक्षा दिन दुई दिन पैदल हिँड्नुपर्थ्यो। त्यति वेला आफ्नै खालका असुविधा र कठिनाइ थिए। अहिलेको प्रविधिसम्पन्न संसारमा धेरै सुविधा र सहजताले हामी सुसज्जित छौं तर यो समाजका पनि आफ्नै कठिनता छन्। हामीले भोग्ने समाज र घटनाले हामीमा खुशी, निराशा, विद्रोह आदि उत्पन्न गर्दा लेखनमा त्यसैको प्रतिविम्ब आउने रहेछ।
त्यसैले कुनै पनि समयको शासन, राजनीति, नेतृत्व, समाजले नै लेखनको विषयमा फरक ल्याउँछ। पञ्चायती शासनका वेला व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि समीक्षा गरेर लेखिन्छ। यो शासन व्यवस्थाभित्र जनताले नपाएको कुराबारे लेखिन्छ।
पदीय जिम्मेवारी पूरा गर्ने क्रममा कठोर निर्णय लिने स्थिति पनि आउँछ। त्यस वेला तपाईंभित्रको साहित्यिक मन लचिलो हुन खोज्दैन?
एकदमै हुन्छ। त्यस्तो वेला मन सम्हाल्नै गाहो हुन्छ। विभिन्न पदीय जिम्मेवारीका क्रममा धेरै निर्णय गर्दा आँसु चुहिएको छ। मान्छेहरू चाहिं आफैंले निर्णय गरेर गोहीको आँसु चुहाएको पनि भन्छन्। तर मनको कुरा गर्दै छु म। वास्तवमा मन पनि दुइटा हुन्छ। बाहिरी र भित्री। कहिलेकाहीं बाहिरी मनलाई पनि भित्री दृष्टिकोणबाट हेरेर काम गर्छु। मैले नियमित गर्ने निश्चित कर्तव्य छन्। तर कहिलेकाहीं निर्णय लिंदा भावुक मनले पछिसम्म पोल्छ।
एक पटक, निर्वाचन आचारसंहिता उल्लंघन गरेको र खर्च विवरण पेश नगरेकोमा एक लाख २४ हजार जनप्रतिनिधिलाई कारबाहीको निर्णय लिनुपर्ने भयो। सबै कागजात आएपछि निर्णय नलेखी पनि भएन। नगरूँ नगर्न मिल्दैन, गरूँ भने कारबाही भोग्ने ती जनप्रतिनिधिसँग भोलि बाटोमा हिंड्दा पनि ठोक्किनुपर्छ। त्यस्तो अवस्थामा धेरै घोत्लिने गरेको छु। कर्मचारी समायोजनको समयमा पनि यस्तै भयो। आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा म लचिलो हुन सक्छु तर कानूनले गर भनेको ठाउँमा पन्छिन सक्दिनँ। त्यो स्थितिमा म विवेकहीन हैन, मेरो कर्तव्य, कानून र प्रक्रियाले कठोर निर्णय लिन बाध्य पार्छ भनेर मनलाई बुझाउँछु।
तपाईंको ‘म गाउँ फर्किन्छु’ कविताले ‘रहर बिसाउन शहर पस्नु, जीवन बिसाउन गाउँ पस्नु’ भन्ने आशय राखेको छ। के तपाईंलाई पनि त्यस्तै लाग्छ?
तपाईंको बुझाइसँग मेरो भावना मिल्यो। २०६०/६१ सालतिर काठमाडौंमा संघर्ष गरिरहेको अवस्थामा यो कविता लेखेको हुँ। म जागीरे नै थिएँ तर जागीरभित्र नमीठा घटनाहरूले सताएका थिए। त्यो कुरा पनि कवितामा आएको छ।
मानिसहरू शहरमा आशा, सपना बोकेर आउँछन् तर ती बिस्तारै धूमिल भएर जाँदा रहेछन्। त्यस्तो अवस्थामा हामीले विश्राम लिने त आफू जन्मिएको गाउँ नै रहेछ। वास्तवमा हामी नेपाली सिरानीमा सगरमाथा राखेर सुतेका छौं, गुराँस फुलेको हेरेर बाँच्न जानेका छौं। यसरी हुर्केका हाम्रा लागि आफू जन्मेको माटो नै विश्रामको उपयुक्त थलो हो। यो कविताले यही भन्छ।
गाउँ फर्कने कुरा सुन्दै आनन्द लाग्छ र कथा, कवितामा पनि यो कुरा धेरै लेखिन्छ। तर यथार्थमा गाउँ फर्कने वा फर्कन चाहने जमात कति देख्नुभएको छ?
जब जब गाउँ पुग्छु, भावुक हुन्छु म। गाउँ छाड्ने क्रम बढेको छ। मेरो पालामा गाउँमा विकास पुगेन। विगतमा पूर्वाधार विकासको अभाव गाउँको ठूलो समस्या थियो। तर मानिसहरू गाउँमै थिए। जब अहिले गाउँमा विकास पुग्यो, गाउँ रित्तिन थालेको छ। त्यहाँका बाँझो खेतमा कसैले निःशुल्क रूपमा जोतभोग गरी खाए हुन्छ भन्दा पनि मान्छे भेटिंदैनन्।
गत वर्ष संखुवासभा जाँदा देखियो, भोजपुरदेखि तुम्लिङटारसम्म सरर गाडी गुड्ने राम्रो बाटो बनेछ। तर तुम्लिङटारसम्म दुई घण्टा मोटर यात्रा गर्दा १० वटा गाडी पनि क्रस भएनन्। यसको अर्थ गाउँमा उत्पादन छैन, निर्माण कार्य छैन। भएको भए गाडी आउजाउ गर्थे। त्यहाँ मानिसहरू खासै नभएकाले सवारीसाधन पनि चाहिएन।
अहिले विकासको विकेन्द्रीकरण र मानिसहरूको केन्द्रीकरण वा विदेशिने अवस्था छ। गाउँ फर्कने मान्छे नै देखिंदैनन्। तर गाउँ र देशमा सम्भावना छ। कर्णालीमा भएका एक साथीले भन्थे, हामी सुन सिरानीमा राखेर नुन खोज्दै हिंडिरहेका छौं। अहिलेको तीतो यथार्थ यही हो।
प्रसंग बदलौं, तपाईंले नेपाली संगीत क्षेत्रलाई चर्चित गीतहरू दिनुभएको छ। गीतसँग तपाईंको नाता कसरी जोडियो?
गीत मार्फत थोरै शब्दमा धेरै कुरा भन्न सकिन्छ। एउटा गीतले सिंगो कथा बोल्न सक्छ। त्यसैकारण गीतलाई अभिव्यक्तिको माध्यम बनाएँ। जति वेला कविता, मुक्तक लेख्न शुरू गरें, गीत पनि त्यही वेलादेखि लेख्न थालेको हो। गीत लेख्दै थन्क्याउँदै गरेको थिएँ। केही समय अघिदेखि केही साथीले मैले लेखेका गीतहरूमा संगीत भर्नुभयो। भिडिओ पनि बनाउने प्रस्ताव आयो। पछिल्लो समय म्युजिक भिडिओको प्रचलनका कारण गीत सुनिनेभन्दा पनि हेरिने भएको रहेछ। त्यसैको परिणाम ‘मायालु तिमी कता छौ’ र ‘माछीले खाने खोलीको लेउ’ आए। श्रोता-दर्शकले मन पराउनुभयो। डायरीमा अझै ३०० जति गीत छन्। यिनलाई बजारमा ल्याउने स्रोतसाधन मसँग छैन। बिस्तारै काम गर्ने सोच छ।
गीतबारे केकस्ता प्रतिक्रिया आउँछन्?
६० वर्षको मानिसले पनि कसरी १६-१८ वर्षका भावना भएका गीतहरू लेख्नुहुन्छ भनेर वेलावेला मलाई प्रश्न गर्छन्। जवाफमा, गीत लेख्ने वेला त १६ वर्षे भावनामै डुबेर लेख्छु भन्ने गरेको छु। मायालु तिमी कता छौ भन्ने गीत त मैले गाडीमा कतै गइरहेको वेला लेखेको थिएँ।
कस्ता किताब पढ्न रुचाउनुहुन्छ?
पहिले विकास र प्रशासनका किताब धेरै पढ्थें। पछिल्लो समय चाहिं विगतमा पढ्न मन भएर पनि आर्थिक समस्याका कारण पढ्न नपाएका किताबहरू पढ्दै छु। त्यसमा पनि वैदिक साहित्य र दर्शन पढिरहेको छु। पहिले भगवद्गीता दुई पटक पढिसके पनि अहिले फेरि पढ्दा गीता त मैले बुझेकै रहेनछु भन्ने लागेको छ।
हामीले अध्यात्म र भौतिकवादबीचको दूरी खोज्यौं, यसको मेलमिलाप खोजेनौं। अहिले अध्यात्म पढिरहँदा यीबीचको मेलमिलाप खोज्नुपर्ने रहेछ भन्ने लागेको छ। अध्यात्मलाई रूढिवादी र भाग्यमा विश्वास गर्ने भन्यौं तर त्यो होइन। आत्मिक शान्ति विना त कुनै पनि उपलब्धि सार्थक लाग्दैन। यता, भौतिकवादमा सुख र मस्ती भनिरहेका छौं। यी दुई कुराबीच अन्तर्घुलन गरेर अघि बढ्न सकियो भने आत्मिक शान्ति सहितको भौतिक विकास र समुन्नति हुने रहेछ।
तपाईंलाई प्रभाव पारेका किताब कस्ता छन्?
अनेक पुस्तक छन्। कविताको कुरा गर्दा भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे कृति नपढेको भए कविता नै नलेख्न सक्थें। नयाँ कवि-साहित्यकारहरूका किताब पनि उत्तिकै पढ्छु। तिनले पनि प्रभाव पार्छन्।
साहित्य लेखनमा अबका योजना के छन्?
मैले सब-ओभरसियर पदबाट जागीरे जीवन शुरू गरें। अहिले काठमाडौं महानगर जाँदा भूतपूर्व कार्यकारी आयो भन्छन्। जाजरकोट जाँदा भूतपूर्व सीडीओ आयो भन्छन। अबको एक वर्षपछि पूर्व प्रमुख निर्वाचन आयुक्त हुन्छु। सबै कुरामा भूतपूर्व हुँदो रहेछ, सिर्जनाको संसारमा भने नहुँदो रहेछ। अभूतपूर्व हुने कर्म त सिर्जना मात्र रहेछ। सधैं जिउँदो र ताजा बनाउने शक्ति सिर्जना मात्र रहेछ। यस कुराले मलाई झस्कायो।
त्यसकारण लेखिसकेका कविताहरू प्रकाशन गर्न मन लाग्यो। तर साहित्यकार भनेर कतै लेखिएला भनेर मैले यस क्षेत्रलाई मूल बाटो बनाएको छैन, यो मेरो गोरेटो बाटो हो। मन र प्रयत्नले कहाँसम्म डोर्याउँछ, थाहा छैन। यो कविताकृतिको प्रतिक्रिया लिएर अन्य काम गर्नेछु। २०६३ सालपछि लेखेका मुक्तक, कविता र गीतहरू अप्रकाशित अवस्थामा छन्, तिनलाई बाहिर ल्याउने समय पनि आउनेछ। यही क्षेत्रमा समर्पित हुन्छु त भन्दिनँ, सक्ने जति योगदान भने गर्छु।
(सम्पादन : जीवन कार्की, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री :
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’