माओवादी नेता कृष्णबहादुर महरा रिहा
सुन तस्करीको आरोपमा पक्राउ परेका सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा छुटेका छन्।
माओवादी नेता महरालाई बिहीबार रिहा गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले बताए। बोलाएको वेला उपस्थित हुने गरी महरालाई उनका छोरा निर्मलको जिम्मा लगाइएको बोगटीले बताए।
महरालाई चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरिएको थियो। जिल्ला अदालत, काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै नर्भिक अस्पतालमा राखिएको थियो।
विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेर ल्याएको आरोपमा महराका छोरा राहुल विरुद्ध मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको सीआईबीले जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ।
राहुल गत भदौ १३ मा पक्राउ परेका थिए। हाल उनी पुर्पक्षका लागि थुनामा छन्।
सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो। त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो। तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो।
अवैध सुन पैठारी सम्बन्धी छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले चैत १ मा बुझाएको प्रतिवेदनमा महरालाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरिएको थियो।
आयोगको सिफारिशका आधारमा सीआईबीले महरालाई पक्राउ गरेको थियो। यसअघि सीआईबीले महरासँग बयान पनि लिएको थिएन।