इलाममा आकांक्षीको लर्को, कसले मार्ला बाजी?
उपनिर्वाचनको मिति नजिकिंदै जाँदा इलाम-२ मा उम्मेदवारका दाबेदारहरू गाउँ र काठमाडौं दौडधूप गरिरहेका छन्।
आउँदो वैशाखमा १५ मा हुने उपनिर्वाचनको मिति नजिकिंदै जाँदा इलाम-२ मा चुनावी सरगर्मी बढेको छ। राजनीतिक दलहरू उम्मेदवार छनोटमा जुटेका छन् भने दाबेदारहरू दौडधूपमा छन्। एकातिर चुनावी प्रचारका लागि गाउँघरतिर गइरहेका छन् भने अर्कातिर टिकटका लागि काठमाडौं आवतजावतमा व्यस्त देखिन्छन्।
२०७९ सालको निर्वाचनमा विजयी नेकपा (एमाले)का नेता सुवास नेम्वाङको गत भदौ २५ मा हृदयाघातबाट निधन भएको थियो। प्रतिनिधि सभा सदस्यको उक्त रिक्त स्थानमा निर्वाचन आयोगले आउँदो १५ वैशाखमा उपनिर्वाचन तोकेको छ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार चैत २४ मा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। त्यसका लागि अहिलेसम्म प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। उम्मेदवार तय गर्ने प्रक्रिया भने शुरू गरिसकेका छन्।
गत तीन दशकदेखि इलाममा प्रतिस्पर्धी रहेका नेपाली कांग्रेस र एमालेले जिल्ला तहबाट उम्मेदवारका नाम काठमाडौं पठाइसकेका छन्। सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारी दिने कि नदिने निर्क्योल गर्न सकेको छैन। अन्य साना दल पनि उम्मेदवार उतार्ने तयारीमा जुटेका छन्।
चैत ७ मा बसेको कांग्रेस जिल्ला कार्यसमिति, इलामको बैठकले उम्मेदवारका लागि सात जनाको नाम सिफारिश गरेको छ। जसमा भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राई छन्।
त्यस्तै, चैत ६ मा बसेको एमालेको जिल्ला कमिटी बैठकले पाँच जनाको नाम केन्द्रमा पठाएको छ। जसमा बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलाल र सुहाङ नेम्वाङ छन्। सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन्।
चुनाव लड्ने नलड्ने टुङ्गो नभए पनि माओवादीले उम्मेदवारको खोजी गरिरहेको छ। इलाम-२ मा माओवादीको अवस्था कमजोर छ। त्यसैले पनि बलियो उम्मेदवारको खोजी भइरहेको माओवादी नेताहरू बताउँछन्।
माओवादीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ केही दिनमै उम्मेदवारको नाम केन्द्रमा पठाउने बताउँछन्। “हामीले आकांक्षी उम्मेदवारलाई जिल्ला पार्टी कमिटीको बैठक बसेर निर्णय पठाउन भनेका छौं,” अध्यक्ष नेम्वाङ भन्छन्, “जिल्लाको निर्णय आएपछि दुई-तीन दिनभित्र केन्द्रमा नाम पठाउनेछौं।”
अहिलेसम्म माओवादीमा दुई जना आकांक्षी देखिएका छन्। धिरेन शर्मा, हर्क लावतीको नाम सम्भावित उम्मेदवारका रूपमा आएको छ।
इलाम-२ को उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको पनि चर्चा भइरहेको छ। नेकपा (एकीकृत समाजवादी) खनाललाई उम्मेदवार बनाउने आन्तरिक कसरतमा लागेको छ।
एकीकृत समाजवादीका कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत अहिलेसम्म कसलाई उठाउने भन्ने निश्चित नभएको बताउँछन्। “अब जिल्लामा गएर बैठक गर्छौं,” इन्चार्ज बस्नेत भन्छन्, “त्यही बैठकबाट उमेदवार छनोटको विषय टुंगो लगाउँछौं।”
प्रदेश इन्चार्ज बस्नेतका अनुसार, उम्मेदवार बन्न पूर्व प्रधानमन्त्री खनालले पनि इच्छा जाहेर गरेका छन्। “नयाँ पुस्तालाई पालो दिने कि भन्ने विषयमा पनि पार्टीभित्र छलफल भइरहेको छ,” उनी भन्छन्, “दुई-तीन दिनभित्र पार्टीले उमेदवार टुंगो लगाउनेछ।”
यससँगै कोशी नामकरणको विरोध गरिरहेको पक्षले पनि चुनावी प्रतिस्पर्धा गर्ने भएको छ। कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएको प्रदेश नम्बर एक पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने भएका छन्। संघर्ष समितिको चैत १ मा बसेको बैठकले थेगिमलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
कोशी प्रदेश पुनः नामांकनको अभियानका रूपमा उम्मेदवारी दिने थेगिमको भनाइ छ। थेगिम चुनावी तयारीमा जुटिसकेका छन्।
यस्तै, पूर्व पत्रकार मिलन लिम्बूले पनि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग छलफलपछि उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्।
सत्तारूढ गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ मा छुट्टै उम्मेदवार खडा गर्ने निर्णय गरिसकेको छ। रास्वपा केन्द्रीय समितिको निर्णय अनुसार उम्मेदवारको खोजी शुरू भएको छ। रास्वपाले प्रारम्भिक निर्वाचन तालिका नै सार्वजनिक गरेको छ।
रास्वपाले चैत १४ गतेसम्म उम्मेदवारका आकांक्षीलाई आवेदन दिन आह्वान गरेको छ भने त्यही दिन प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ। चैत १५ मा उम्मेदवारमाथि दाबी विरोधको समय निर्धारण गरिएको छ भने त्यही दिन उम्मेदवारसँग छलफल गरी राति ८ बजे अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ।
यससँगै चैत १६ गते साँझ ७ बजेसम्म मतदान र निर्णयका लागि समय छुट्याएको छ। त्यस्तै, चैत १७ गते मध्याह्न १ बजे उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यतालिका छ।
यससँगै स्वतन्त्र उम्मेदवारी दिने युवा पनि तयारीमा जुटेका छन्। युवा व्यवसायी अर्जुनविक्रम शाहीले चुनावी प्रचार शुरू गरिसकेका छन्। शाही फागुन दोस्रो सातादेखि नै इलामका गाउँ गाउँ पुगेर मतदातालाई भेटिरहेका छन्।
सजिलो छैन चुनाव जित्न
इलाम-२ मा साढे दुई दशकयताको निर्वाचनमा एमाले नै प्रभावशाली देखिएको छ। २०५६ सालयताका सबै चुनावमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। हरेक निर्वाचनमा कांग्रेसले उम्मेदवार फेर्दै आए पनि सफलता पाउन सकेको छैन। यस क्षेत्रमा एमाले नेता सुवास नेम्वाङले एकछत्र राज गर्दै आएका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनमा नेम्वाङले कांग्रेसका उम्मेदवार केशव थापालाई तीन हजार ७०४ मतान्तरले पराजित गरेका थिए। त्यति वेला नेम्वाङले १७ हजार ७४८ मत पाएका थिए भने कांग्रेसका थापाले १४ हजार ४४ मत पाएका थिए।
त्यसपछि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा कांग्रेसले भेषराज आचार्यलाई उम्मेदवार बनाएको थियो। त्यति वेला पनि नेम्वाङ नै निर्वाचित भएका थिए। भेषराजले १२ हजार ८२८ मत पाउँदा नेम्वाङले १४ हजार ९३० मत पाएका थिए।
नयाँ संविधान बनेपछि २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले केशव थापालाई उम्मेदवार बनाएको थियो। त्यति वेला नेम्वाङ झन् फराकिलो मतान्तरले निर्वाचित भएका थिए। थापाले २६ हजार ८६० मत पाउँदा नेम्वाङले ३६ हजार ५१७ मत पाएका थिए।
पछिल्लो निर्वाचनमा कांग्रेसले माओवादी लगायत दलसँग गठबन्धन गर्दा पनि जित हासिल गर्न सकेन। २०७९ सालमा नेम्वाङ ३० हजार २० मत पाएर प्रतिनिधि सभा सदस्य निर्वाचित भए भने प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति डम्बर खड्काले २९ हजार ९०६ मत पाएका थिए।
गाउँ गाउँसम्म संगठन बलियो भएकाले अहिले पनि सहजै जित हासिल हुने एमाले नेताहरूको दाबी छ। विगतका निर्वाचनले पनि अन्य दलले धेरै मिहिनेत गर्नुपर्ने देखाएका छन्। एमाले युवा नेता दिनेश ढकाल भन्छन्, “एमालेको गाउँसम्मको संगठनको आधारमा भन्छु, इलाम-२ मा सूर्य बाहेकको चुनाव चिह्नले जित्न असम्भव नै छ।”
नेता नेम्वाङले जितिरहेको यस क्षेत्रमा छोरा सुहाङलाई उम्मेदवार बनाउने एमालेको रणनीति छ। जिल्ला र प्रदेशबाट केन्द्रमा पाँच जनाको नाम पठाए पनि सुहाङकै सम्भावना बलियो रहेको एमाले नेताहरू बताउँछन्। “आकांक्षीको नाम केन्द्रमा पठाउनु भनेको अरू दाबेदारप्रति सहानुभूति देखाउनु पनि हो,” एमालेका एक नेता भन्छन्, “जनताको सहानुभूति भने सुहाङप्रति छ। त्यसलाई एमाले केन्द्रले पनि बुझेको छ।”
इलामका कांग्रेस नेताहरू भने यस पटक चुनाव जित्ने मौका भएको बताउने गरेका छन्। नेता नेम्वाङ जति प्रभावशाली अर्को उम्मेदवार नहुने भएकाले जित्न सजिलो हुने कांग्रेस नेता तथा कार्यकर्ताको आकलन छ। एमालेको उम्मेदवार तय भएपछि मात्रै कांग्रेसको उम्मेदवार टुंगो लगाउने योजना रहेको एक नेता बताउँछन्।
यससँगै रास्वपाले युवा उम्मेदवारलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ। केही युवा पनि स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन्। जसले गर्दा कांग्रेस, एमाले लगायतका दललाई पनि युवा उम्मेदवार बनाउनुपर्ने चुनौती थपिएको छ।