एकीकृत समाजवादीले बोलायो संयुक्त बैठक
नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक बोलाएको छ।
चैत ११ गते बोलाएको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने उपमहासचिव जगन्नाथ खतिवडाले बताए।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति बनेको छ। बैठकमा आसन्न महाधिवेशनका लागि मूल व्यवस्थापन कमिटी तथा अन्य कमिटीबाट भएका कामको समीक्षा हुने जनाएको छ।
सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिश भएका नाममा छलफल पनि गर्ने प्रचार विभाग प्रमुख खतिवडाले बताए।
आउँदो जेठमा काठमाडौंमा आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष नेपालको संयोजकत्वमा १०औं महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ।