बस्ती छिर्दै वनको डढेलो
खोटाङमा डढेलोकै कारण कतिपय स्थानीयको उठिबास भएको छ भने यसले पर्यावरण, बोटबिरुवा र जंगली जनावरलाई पुर्याएको क्षतिको हिसाब छैन।
गत चैत ५ गते खोटाङको साकेला गाउँपालिका-५, मात्तिमका बुद्धिमाया राईको मतान र गोठ डढेलोले जल्यो। गुर्दुमस्थित नाकेडाँडा सामुदायिक वनमा लागेको डढेलोले राईको घरकै रूपमा प्रयोग हुँदै आएको मतान सहित लत्ताकपडा, भाँडावर्तन, काठपात र गोठ जल्दा तीन लाख ४५ हजारको क्षति भयो।
यस्तै, चैत ३ गते राते खोला सामुदायिक वनमा लागेको डढेलोले खोटाङकै हलेसी तुवाचुङ नगरपालिका-८, धितुङकी ज्ञानमाया राईको घर र गोठ, देवराज राईको मुन्डा घर र दुई वटा गोठ तथा ईश्वरमाया राईको गोठ खरानी भए। निभाउने प्रयास गर्दागर्दै डढेलोले दूधकोशी जलविद्युत् आयोजनाको स्टोरमा राखिएको १० ड्रम डिजेल समेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ।
यस्तै, सतीदेवी र खेमकाजी सामुदायिक वनमा लागेको डढेलोले ऐंसेलुखर्क गाउँपालिका-६, ज्यामिरेका खुँजाप्रसाद फुयाँल र बुद्धिनाथ लम्सालको घर तथा युवराज राईको गाईगोठ र बाख्राखोर लगायत नष्ट भए।
गत फागुन ३० गते पनि दिप्रुङ चुइचुम्मा गाउँपालिका-४, बतासे खिसाकास्थित ठूलोभीर सामुदायिक वनमा डढेलो लाग्दा सोही ठाउँका जीवन राईको घर र मतान, सुवास राईको मतान र गोठ तथा तारा राईको मतान जल्यो। यसको चार दिनअघि फागुन २६ गते असोजे सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी पांग्रेकी सुमित्रा राईको दुई वटा घर र एकतले एउटा मतानको छाना जलेको थियो।
खरबारीमा लागेको डढेलोको झिल्कोले फागुन २१ गते खोटेहाङ गाउँपालिका-३, सावाकटहरेका महेश जनकर्मीको घर र उमेश जनकर्मीको मतान नष्ट भएको थियो।
जिल्ला प्रहरी कार्यालय, खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार गत फागुन २१ गतेदेखि चैत ६ गतेबीचमा जिल्लाका विभिन्न ३५ ठाउँमा डढेलो लागेको छ। डढेलोका कारण १६ वटा घर र १९ वटा गोठ लगायत संरचना जल्दा एक करोड ६३ लाख ७७ हजार ५०० बराबरको क्षति भएको छ।
डढेलोकै कारण ७१ वटा खसीबाख्रा, दुई वटा बाछा र १७५ वटा कुखुरा मरेको प्रहरीको तथ्यांक छ।
सुक्खा याम शुरू भएसँगै खोटाङका १० स्थानीय तहमा अहिले डढेलो प्रकोप बढेको छ। कतिपय स्थानीयको उठिबास भएको छ। डढेलोले पर्यावरण, बोटबिरुवा र जंगली जनावरलाई पुर्याएको क्षतिको हिसाब छैन।
प्रायः मानवीय त्रुटिका कारण वनमा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहाल बताउँछन्। “९९ प्रतिशत मानवीय त्रुटिका कारण डढेलो लाग्छ। बिजुलीको तारबाट, चट्याङबाट, चट्टान घोटिएर, बाँसको घर्षणबाट हुने घटना ‘रेयर केस’ हो,” दाहालले भने।
जंगली जनावर धपाउन, नयाँ घाँस उमार्न स्थानीयले नै कहिलेकाहीं वनमा डढेलो लगाउने गरेका छन्। वनजंगल पुगेका वेला बालेको आगो ननिभाई छाड्दा, बालेको सलाई, चुरोटको ठुटो ननिभाई फाल्नाले पनि वनमा डढेलो लाग्ने गरेको छ।
वनजंगलमा डढेलो लगाउनु कानूनतः दण्डनीय मानिने जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का बताउँछन्। “डढेलो लगाउनु वातावरण खत्तम बनाउनु हो। जंगल विनाश भो। बस्ती क्षति भो,” खड्काले भने, “डढेलो लाउनेलाई कानूनले १२ वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ।”
वर्षाले नियन्त्रणमा डढेलो
हिउँद वर्षाविहीन हुँदा देशका धेरै स्थानमा डढेलो सल्किएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलका अनुसार गत साता मात्रै देशका ३०० भन्दा बढी स्थानमा डढेलो लागेको थियो। खासगरी, हिउँदे वर्षा नहुँदा देशको पूर्वी भेगमा डढेलो र आगलागीका धेरै घटना भएका थिए।
तर वर्षा भएपछि धेरै स्थानको डढेलो निभेको भूउपग्रह तस्वीरले देखाएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाको सक्रिय आगलागीको तथ्यांकले पछिल्लो २४ घण्टामा देशको पश्चिमी भागका केही स्थानमा मात्रै डढेलो र आगलागी बाँकी रहेको देखाएको छ।
खोटाङ सहित देशको पूर्वी भागमा सल्केको डढेलो भने निभेको छ। जिल्लामा चैत ६ गते रातिदेखि सामान्य वर्षा भएको थियो।