प्रिमनसुनी वर्षाले निभायो डढेलो, खेतीपातीलाई सहयोग
प्रिमनसुनको शुरूआतमै देशको पूर्वी भागमा वर्षा भएको छ। हिउँद सुक्खाप्रायः बिते पनि मनसुनी वायु भित्रिनुअघिको अवधिमा परेको पानीले कृषि र वातावरण दुवैलाई लाभ दिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ११८ मौसम स्टेशनले पछिल्लो २४ घण्टामा पानी परेको रेकर्ड गरेका छन्। खासगरी देशको पूर्वी भागमा राम्रो वर्षा भएको छ। पछिल्लो २४ घण्टामा धनकुटाको पाख्रिबास स्टेशनले सबैभन्दा धेरै ५८.२ मिलिलिटर पानी परेको रेकर्ड गरेको छ।
त्यस्तै, इलाम, सिरहा, खोटाङ, धनकुटा, पाँचथर, भोजपुर, सिन्धुली लगायत जिल्लामा पनि पानी परेको छ। यद्यपि देशको पश्चिमी भागमा छिटपुट बाहेक पानी परेको छैन। पछिल्लो २४ घण्टामा ४१ मौसम स्टेशनले १० मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड गरेका छन्।
विभागको तथ्यांक अनुसार बिहीबार दिउँसोसम्म सरदरमा २५.७ मिलिमिटर पानी परेको छ। यो प्रिमनसुनको अवधिमा पर्ने औसत पानीको ११.४ प्रतिशत हो। विभागले फागुन १८ देखि जेठ १८ सम्मको तीन महीनाको अवधिलाई प्रिमनसुन अवधि मान्छ। यो वेला सरदरमा २२६.३ मिलिमिटर वर्षा हुन्छ।
धनकुटा, विराटनगर, धरान, ओखलढुंगा, जनकपुर, दाङ, भैरहवा, धनगढी, डडेल्धुरा, दिपायल, जुम्ला, सुर्खेत लगायत स्थानमा प्रिमनसुनको अवधिमा सन्तोषजनक वर्षा भएको विभागले जनाएको छ।
विभागले मौसम बुलेटिन निकालेर हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। स्थानविशेषमा आगामी दिनमा पनि छिटपुट वर्षा हुने अनुमान गरिएको छ। विभागले शुक्रबार र शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने तथा शनिबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली भई बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ।
वातावरण र किसानलाई राहत
पहाड र तराईमा मकै छर्ने वेला भएको वर्षाले किसानलाई राहत दिएको छ। हिउँदभरि पानी नपर्दा यस वर्ष पनि हिउँदे बालीको उत्पादनमा असर पुगेको थियो।
विभागका अनुसार यस वर्षको हिउँदमा सरदरको अनुपातमा २१ प्रतिशत हाराहारीमा मात्रै पानी परेको थियो। विभागले डिसेम्बरको शुरूदेखि फ्रेब्रुअरी अन्तिमसम्म (मंसीर १५ देखि फागुन १७ गतेसम्म)का तीन महीनालाई हिउँद अवधि मान्छ।
यस वर्षको हिउँद अवधिमा नेपालमा सरदर १२.५ मिलिमिटर मात्रै पानी परेको थियो। सामान्यतया हिउँदको अवधिमा ६०.१ मिलिमिटर पानी पर्नुपर्ने हो। तर हिउँदे वर्षा गराउने पश्चिमी वायु सक्रिय हुन नसक्दा यस वर्षको हिउँद वर्षाविहीन भएको थियो।
हिउँद वर्षाविहीन हुँदा चैतको पहिलो साता नै देशका धेरै स्थानमा डढेलो सल्किएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलका अनुसार गत साता देशका ३०० भन्दा बढी स्थानमा डढेलो लागेको थियो। खासगरी, हिउँदे वर्षा नभएको देशको पूर्वी भेगमा डढेलो र आगलागीका धेरै घटना भएका थिए।
तर वर्षा भएपछि धेरै स्थानको डढेलो निभेको भूउपग्रह तस्वीरले देखाएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाको सक्रिय आगलागीको तथ्यांकले पछिल्लो २४ घण्टामा देशको पश्चिमी भागका केही स्थानमा मात्रै डढेलो र आगलागी बाँकी रहेको देखाएको छ। देशको पूर्वी भागमा भने डढेलो निभेको छ।