कोदालो प्रहारबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते
बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना घाइतेको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
डिलासैनी गाउँपालिका-७, धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले पत्नी ५६ वर्षीया पार्वती धामी र घरमा डेरा गरी बस्ने दुई जना कर्मचारी २९ वर्षीय सुभाष कलौनी र २६ वर्षीय देवराज भट्टलाई कोदालोले हानेका थिए। कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
त्यस्तै, गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका-९ का डिलासैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुख सुभाष र डिलासैनी गाउँपालिकामा कार्यालय सहयोगी देवराजलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। दुवै जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान ९ बजे किसनसिंहले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेका थिए। त्यसपछि आफ्नै घरमा डेरा गरी बसेका सुभाष र देवराजमाथि पनि कोदालो प्रहार गरेको प्रहरीले जनाएको छ।
किसनसिंहले किन कोदालो प्रहार गरे भन्ने खुल्न सकेको छैन। कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।