आइरिश र नेपाली फिल्म प्रदर्शन गर्दै शुरू भयो ‘नेपाल-यूरोपियन युनियन फिल्म फेस्टिभल’
१३औं संस्करणको ‘नेपाल-यूरोपियन युनियन फिल्म फेस्टिभल’ शुरू भएको छ।
काठमाडौंको सुन्धारास्थित सीडीसी सिनेमा हलमा मार्टिन म्याकडोनाग निर्देशित आइरिस चलचित्र द ब्यानशीस अफ इनिशेरिन र शान्ता नेपाली निर्देशित चलचित्र डाय ड्रीम्स प्रदर्शन गर्दै महोत्सव शुरू भएको हो।
यूरोपियन युनियन र नेपालबीचको दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममध्ये एक यस चलचित्र महोत्सव चैत १० गतेसम्म चल्नेछ। यस संस्करणको महोत्सवको दूत अभिनेत्री उपासना सिंह ठकुरी रहेकी छन्।
महोत्सव अवधिभर नौ वटा यूरोपेली चलचित्र र ११ नेपाली लघुचलचित्र प्रदर्शन हुनेछन्। यूरोपेली चलचित्रमा द ब्यानशीस अफ इनिशेरिन सहित मेरियन ब्लिचर निर्देशित मिस भिबोर्ग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेक रिपब्लिक), पिलर पालोमेरो निर्देशित स्कूल गर्ल्स (स्पेन), एन्टोनियो लुकिच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित सरभेन्ट्स (चेक रिपब्लिक, आयरल्यान्ड, रोमानिया, स्लोभाकिया), भिक्टर वोजिनोमल निर्देशित द नेकेड ट्रूथ अबाउट झिगुली ब्यान्ड (बुल्गेरिया), जाइदा बरग्रोथ निर्देशित टोभ (फिनल्यान्ड) र रोड्रिगो सोरोगोयेन निर्देशित द बिस्ट (स्पेन) रहेका छन्।
यस्तै, नेपाली चलचित्रहरू शान्ता नेपाली निर्देशित डाय ड्रीम्स सहित गोपाल आचार्य निर्देशित डिभिनेशन (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक पिरियड, मिराजरोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, स्वोयन मास्के मानन्धर निर्देशित द बुल, द काउ, द काल्फ, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित रिल प्रदर्शन हुनेछन्।
उद्घाटन समारोहमा यूरोपियन युनियनका प्रतिनिधि सहित नेपाली कलाकार, चलचित्र निर्माता तथा निर्देशकहरूको उपस्थिति थियो।