ज्ञानको मुहानै फोहोर : पाठ्यपुस्तकमा गल्ती नै गल्ती
तथ्यगत रूपमा त्रुटिपूर्ण, लैंगिक रूपमा विभेदी र जातीय रूपमा द्वेषपूर्ण सामग्रीले भरिएका विद्यालयका पाठ्यपुस्तक असमावेशी समेत छन्।
काठमाडौंको टोखास्थित फ्लोरोसेन्ट माविका शिक्षक पूर्ण इन्फादाले कक्षा १० का विद्यार्थीलाई केही दिनअघि मात्र पढाए- ‘मेरो छोराले के सिकोस्?’
नेपाली विषयको यो पाठलाई अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिंकनले प्रधानाध्यापकलाई लेखेको चिठी भनिएको छ। त्यसमा लिंकनका तर्फबाट व्यक्त गरिएको भनेर छोरालाई विद्यालयमा केकस्ता कुरा सिकाइयोस् भन्ने अपेक्षा सूचीबद्ध गरिएको छ।
अहिलेसम्म देशभरका हजारौं विद्यार्थी लिंकनले नै लेखेको चिठी बुझेर पढ्दै कक्षा उत्तीर्ण समेत भइसके। तर एजुकेशन इन एभ्री होम नामक संस्थाले एक वर्ष लगाएर गरेको अध्ययनले त्यो चिठी झूटो रहेको औंल्याएको छ। संस्थाले तयार पारेको ‘सार्वजनिक विद्यालयको पाठ्यपुस्तकहरूमा (२०२३–२०२४) सहभागिताको लेखापरीक्षण प्रतिवेदन’ अनुसार लिंकनको मृत्यु १५ अप्रिल १८६५ मै भएको हो। जबकि चिठीमा लेखिएको मिति ४ फेब्रुअरी १८८२ अर्थात् १७ वर्षपछिको छ।
चिठीको आधिकारिकता पत्ता लगाउन संस्थाले अमेरिकाको स्प्रिङफील्ड, इलनोईस्थित लिंकन राष्ट्रपतीय पुस्तकालय एवं संग्रहालयलाई पत्राचार गरेको थियो। संग्रहालयले त्यो चिठी लिंकनले नलेखेको जवाफ दिएको छ। अनुसन्धान टोलीको नेतृत्व गरेका होमराज आचार्यका अनुसार इन्टरनेटमा छ्यासछ्यास्ती भेटिने झूटा सूचना टिपेर कक्षा १० को नेपाली विषयको पाठ तयार पारिएको रहेछ। “यसले हाम्रा पाठ्यपुस्तक लेख्ने र समीक्षा गर्नेहरूको क्षमता देखाउँछ,” आचार्य भन्छन्।
प्रतिवेदनले यस्ता तथ्यगत त्रुटि अरू पनि औंल्याएको छ। जस्तो- कक्षा १० कै सामाजिक पुस्तकको पृष्ठ १४८ को पाठ। त्यसमा ब्राजिलमा हात्ती, गैंडा, बाघ अनि जर्मनीमा बाँदर र बाघ पाइने लेखिएको छ। जबकि यी दुवै देश उल्लिखित जनावरका मौलिक वासस्थान होइनन्। जर्मनीको आफेनवर्गमा संरक्षणीय प्रयोजनले निश्चित प्रजातिका केही बाँदर लगेर राखिएको र ब्राजिलमा पनि एलिफेन्ट सेन्चुरी अर्थात् हात्तीलाई अनुकूल क्षेत्र व्यवस्थापन गरिएको मात्र हो। ती देशमा यी जनावर नभएकैले संरक्षण क्षेत्र र अनुकूल वातावरण तयार पार्नुपरेको हो।
खासमा हात्ती र गैंडा मूल रूपमा एशिया र अफ्रिकामा मात्र पाइन्छन्। बाघ एशियामा पाइन्छ। ‘विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव’ शीर्षक निबन्धमा यी झूटा विवरण तिनै देशका पात्र खडा गरेर उनीहरूबाटै भनाइएको छ।
विद्यार्थीलाई विश्वव्यापी ज्ञान दिने हुटहुटीमा वन्यजन्तुबारे गलत विवरण दिनुभन्दा पाठ्यक्रममा नेपाल बाघ संरक्षणमा विश्वमै अगुवा रहेको विषय समेट्नु उचित हुने अध्ययनले सुझाएको छ।
सोही निबन्धमा ब्राजिली पात्र भन्छ, ‘धेरै गर्मी भएकाले कहिलेकाहीं हामीलाई काम गर्न अल्छी लाग्छ।’
त्यस्तै, जर्मन पात्र आफ्नो देशका नागरिकहरूबारे भन्छिन्, ‘मानिसहरू जाँगरिला र सिर्जनशील छन्।’
यी दुई वाक्य यसरी प्रस्तुत गरिएका छन् कि तिनले विद्यार्थीको मस्तिष्कमा समग्रमै ब्राजिलका सबै मानिस अल्छी र जर्मनीका सबै मानिस जाँगरिला रहेको भ्रम स्थापित गरिदिन्छ।
कक्षा ७ को नेपाली पुस्तकमा मदर टेरेसाको व्यक्तित्व चित्रण छ। त्यसमा उनको जन्म युगोस्लाभियामा पर्ने मेसेडोनियाको स्कोप्ज भन्ने ठाउँमा भएको भनिएको छ। तर अहिले यो नामको देश अस्तित्वमै छैन। युगोस्लाभिया सन् १९९२ मा टुक्रिएर अरू नै नामका सात देशमा बाँडिएको छ। पाठ्यक्रममा यो कुरा नखुलाइँदा विद्यार्थी अहिले पनि युगोस्लाभिया भन्ने देश अस्तित्वमै रहेको बुझिरहेका छन्।
पुराना पाठको लेखन रुजू गर्नमा पनि पाठ्यपुस्तक निर्माताहरू लापरवाह देखिएका छन्। कक्षा १० कै नेपाली पुस्तकमा समाविष्ट ‘घरझगडा’ कथाको वाक्यांश ‘वास्तवमा नायबी सिनोका निम्ति मरिमेट्ने गिद्ध म होइन’ हुनुपर्नेमा सिनोको सट्टा सेना उल्लेख गरिएको छ। ऐतिहासिक घटनामा आधारित कथामा यो संवाद बहादुर शाहले रानी राजेन्द्रलक्ष्मीलाई भनेका हुन्।
त्यस्तै, कतिपय निजी विद्यालयमा कक्षा १० मा पढाइँदै आएको सजिलो सामाजिक पुस्तकको १६०औं पृष्ठमा ‘इस्लाम धर्मावलम्बीहरूले चन्द्रमाको पूजा गर्ने र सूर्यप्रति नकारात्मक हुने कारण हावापानी हो’ भनी लेखिएको छ। राष्ट्रिय अन्तरधार्मिक सञ्जालका राष्ट्रिय सचिव अर्मान हासमी भने इस्लाम धर्मावलम्बीहरू सूर्यप्रति कहिल्यै नकारात्मक नहुने भन्दै यस्ता गलत कथ्य पुस्तकबाट हटाउन अनुरोध गर्छन्। “इदको समयमा चन्द्रमा देखिएपछि व्रत बस्ने कुरासँग मात्र जोडिन्छ। यसलाई हावापानीको कारणले भन्नु अर्को ठूलो भूल हो,” हासमी भन्छन्। यो पुस्तक गिनिज पब्लिकेशन प्रालिले प्रकाशन गरेको हो।
पाठ्यपुस्तकहरू समुदायगत, भौगोलिक र लैंगिक समावेशीकरणमा पनि कमजोर पाइएका छन्। कक्षा १ देखि १० सम्मकै नेपाली र सामाजिक पुस्तकमा दलित, मधेशी, थारू, मगर, मुस्लिम आदिको प्रतिनिधित्व निकै कम छ।
सामाजिक पुस्तकमा नेपाली समाजको मौलिकता लुकाइएको समाजशास्त्री चैतन्य मिश्र बताउँछन्। मिश्रका अनुसार पाठ्यपुस्तकमा समाजका राम्रा-नराम्रा दुवै पाटा समेटिनुपर्नेमा समाजमा विभेद र हिंसा नै नरहेको उल्लेख गरिएको छ। उनी भन्छन्, “नेपाली पाठ्यपुस्तक बन्ने प्रक्रिया, बनाउने व्यक्तिको क्षमता र पाठ्यपुस्तक प्रकाशन पूर्व गरिने समीक्षा नै सुधारिनुपर्छ। अन्यथा यी पाठले दिने सन्देश अपर्याप्त हुन्छन्।”
पाठ्यपुस्तक छापिनुअघि नै लेख-रचनाहरू तथ्यगत रूपमा त्रुटिरहित र सबै हिसाबले सन्तुलित रहे/नरहेको जाँच हुनुपर्ने मिश्रको धारणा छ।
पुरुष पात्र हावी
पाठ्यपुस्तकमा लैंगिक विभेदलाई बढावा दिने प्रसंग समेत ठाउँ ठाउँमा छन्। कक्षा ७ को नेपाली पुस्तकको ‘तितो बोली सच्चा गुण’ कथामा बुहारी पात्रको सबैभन्दा ठूलो गुण नै शारीरिक रूपमा सुन्दर हुनु जसरी प्रस्तुत गरिएको छ। उनी ‘चौपट्टै राम्री’ भएकैले विवाह गरेर भित्र्याइएको सन्देश दिने गरी भनिएको छ, “त्यस्ती राम्री बुहारी पाएकाले बूढाबूढी पनि ज्यादै दंग थिए।”
कक्षा १० को नेपाली विषयकै ‘भविष्य निर्माण’ कथाकी प्रमुख पात्र पार्वतीलाई ‘घरकी गृहलक्ष्मी, स्त्रीसुलभ सौन्दर्य भएकी, भावुक,’ आदि विशेषता दिइएको छ। त्यहीं सैनिक रहेका उनका पति कृष्णबहादुर चाहिं युद्धमा हातमा गोली लागेको कुरा छोरालाई वीरतासाथ सुनाइरहेका हुन्छन्। यसले कलिला विद्यार्थीको मस्तिष्कमा महिलाका हकमा शारीरिक सौन्दर्य महत्त्वपूर्ण हुने, उनीहरू शारीरिक र मानसिक दुवै रूपमा कमजोर हुने तर पुरुषहरू यिनको ठीक विपरीत वीर हुने रूढिवादी छवि रोपिदिन्छ।
कक्षा १ देखि १० सम्मकै सामाजिक र नेपाली पुस्तकमा महिलालाई घरका काम गर्ने, छोराछोरी हेर्ने, खाना पकाउने जस्ता भूमिकामा सीमित पारी घर बाहिरका काम समेत गर्न सक्ने पक्ष ओझेल पारिएको छ। पुरुषलाई चाहिं शहर जाने, कार्यालयमा काम गर्ने, जान्नेसुन्ने पात्रका रूपमा प्रस्तुत गरिएको छ।
त्यस्तै, कक्षा १० को सामाजिक अध्ययन पुस्तकको ‘यौन विकृति र विसंगति’ पाठमा यौन भिडिओले केटाहरूको अध्ययनमा ह्रास आएको लेखिंदा तिनै भिडिओमा महिलालाई यौनवस्तु बनाइएको पक्षलाई बेवास्ता गरिएको छ। कथाको घटना ३ उपशीर्षकमा अश्लील भिडिओ हेरेपछिको कुराकानीमा कृष्ण पात्रबारे यस्तो लेखिएको छ- ‘त्यो भिडिओ लिंकबाट अश्लील भिडिओ हेर्ने गरेकाले मनमा अशान्ति भएको र पढ्न मन नलागेको भने।’ यसले महिलालाई यौनवस्तु ठान्ने पुरुषसत्तात्मक सोच भत्काउने होइन, विद्यार्थीले त्यसैलाई सही ठानेर स्वाभाविक रूपमा स्विकार्ने जोखिम बढाएको छ।
कक्षा १० कै सामाजिक अध्ययन पुस्तकमा नेपालले राखेको विकास लक्ष्यबारे पाठ छ। पृष्ठ नं २५१ मा भनिएको छ- विसं २०२१ सम्ममा नेपाललाई समुन्नत मुलुकको सूचीमा पुर्याउने लक्ष्य राख्दै दीर्घकालीन साेच सहितको पाँचवर्षे अवधिका लागि पन्ध्रौं योजना तर्जुमा गरिएको छ। २०७८ सालमा लेखिएको पुस्तकमा २०२१ सालको लक्ष्य भनेर सामान्य तथ्य पनि ख्याल गरिएको छैन। यस्ता कैयौं त्रुटि पुस्तकमा भेटिन्छन्।
कक्षा १० सम्मका नेपाली र सामाजिक पुस्तकमा समेटिएका प्रेरणादायी ६० व्यक्तिमा महिला नौ जना (१५ प्रतिशत) मात्र छन्। त्यसमा पनि तीन जना विदेशी जुन्को तावेई, मदर टेरेसा र मलाला युसुफजाईलाई बढी ठाउँ दिइएको छ। संस्थाको अध्ययनमा समेटिएका महिलामध्ये पाठको आयतनका आधारमा जुन्को तावेईलाई ३६ प्रतिशत शब्द खर्चिंदा अनुराधा कोइरालाका हकमा २.४ प्रतिशत मात्र छ। महिलाका हकमा समग्रमा ७१.६ प्रतिशत ठाउँ विदेशीलाई दिइएको छ।
पाठ र लेखक छनोट दुवैमा नेपाली पाठ्यपुस्तक पहिल्यैदेखि असमावेशी रहेकोमा पटक पटक प्रश्न उठाउँदा पनि बेवास्ता गरिएको प्राध्यापक विन्दु शर्मा बताउँछिन्। उनका अनुसार प्रेरणादायी भनी समेटिएका महिलामा मिथकीय पात्र सीता पनि छन् जसको स्थानमा संघर्ष गरेर परिचय बनाएका दलित र सीमान्तीकृत महिलालाई समेट्दा बढी प्रभावकारी हुन सक्छ।
“कमलरीदेखि सांसदसम्म बनेकी शान्ता चौधरी, कोठीमा बेचिनेदेखि उद्धारकसम्म बनेकी चरीमाया तामाङ पनि प्रेरक व्यक्तित्व हुन्,” शर्मा भन्छिन्, “हाम्रै गाउँठाउँका यस्ता व्यक्ति समेट्दा विद्यार्थीलाई अपनत्व महसूस हुन्छ।”
समाजशास्त्री मिश्र पनि प्रेरणादायी व्यक्तिमा महिलाहरू कम परेको स्विकार्छन्। महिला पात्र जानीजानी कम समेटिएका हुन् भने पनि छनोटको विश्वसनीय मापदण्ड र कारण उल्लेख गर्नुपर्ने उनको भनाइ छ। “फिचर गर्न मिल्ने महिलाको संख्या पुरुषको तुलनामा कम होला। तर खोजी गर्नुपर्छ। कम हुनुको अर्थ हुँदै नहुनु होइन,” मिश्र भन्छन्।
पाठ्यक्रम निर्मातामा असमावेशी चरित्र मात्र होइन, शहरी केन्द्रीकृत मानसिकता समेत पाइएको छ। देशका कुनाकाप्चासम्म पढाइनुपर्ने पाठ्यपुस्तक उनीहरूले हचुवाका भरमा बनाएको विद्यार्थीलाई ‘इन्टरनेटको सहायताले कुनै विषयमा प्रतिवेदन तयार पार्न’ भनी दिइएको गृहकार्यले प्रस्ट्याउँछ।
दूरदराजका थुप्रै विद्यार्थी इन्टरनेटको सहज पहुँचमा नरहेको स्थितिमा यस्तो गृहकार्य दिइनुलाई एजुकेशन इन एभ्री होमको अध्ययनले पनि त्रुटिपूर्ण मानेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिले नेपालमा ४३.६८ प्रतिशत नागरिक मात्र इन्टरनेटको पहुँचमा छन्। त्यस्तै, राष्ट्रिय जनगणना, २०७८ ले तराईमा ११ लाख, पहाडमा १२ र हिमालमा ६९ हजार घरधुरी मात्र इन्टरनेटको पहुँचमा रहेको देखाउँछ।
लुकाइएको इतिहास
कक्षा १० को सामाजिक विषयको ‘विविधतामा एकता’ पाठमा एउटा वाक्य छ, ‘नेपालीहरूबीच सदियौंदेखि आपसमा विश्वास र समानता रहेको पाइन्छ। एकले अर्कोलाई हेयका दृष्टिले हेर्ने र नकारात्मक सोच कहिले पनि राखेको पाइँदैन।’
यस्तो सामग्रीले नेपाली समाजमा विगतदेखि रहँदै आएको जातीय र लैंगिक विभेदको पाटोलाई ओझेल पारी विद्यार्थीलाई भ्रमपूर्ण र अपूरो सूचना दिने समाजशास्त्री मिश्र बताउँछन्। पाठ्यक्रमले सत्य लुकाउनु साटो जातीय विभेद अहिले पनि कायमै रहेको सूचना दिने नवराज विक सहितको सामूहिक हत्या जस्ता घटनालाई स्थान दिनुपर्नेमा उनको जोड छ। विकले रुकुम पश्चिमकी कथित माथिल्लो जातकी किशोरीसँग प्रेम गरेको भन्दै किशोरीका आफन्तले विक सहित ६ जनाको लखेटी लखेटी हत्या गरेका थिए।
पाठ्यक्रमले समाज कस्तो थियो, के के परिवर्तन भयो भन्ने जानकारी दिंदै कस्तो बनाउने भन्नेसम्मको प्रेरणा दिन सक्नुपर्ने मिश्रको बुझाइ छ। “वर्ग, जात फाटेको देखाउन हुँदैन भनेरै समाजको यथार्थ नदेखाउनु आफैंभित्र भएको छुवाछूत लुकाउनु हो। हामीले यस्ता कुरासँग लड्नुपर्छ,” उनी भन्छन्।
पाठ्यक्रम विकास केन्द्रका लागि इस्याटको सहयोगमा २०६१ सालमा तयार पारिएको ‘दलित परिप्रेक्ष्यबाट पाठ्यपुस्तक र शिक्षक निर्देशिकाको पुनरावलोकन अध्ययन विश्लेषण’ प्रतिवेदनले पनि पाठ्यक्रमहरू अमानवीय, विभेदकारी एवं परपीडक कुसंस्कार त्याग्ने सन्देश दिन चुकेको भन्दै छुवाछूतको नाममा भेदभाव गरे कानूनी सजाय हुने पक्ष समेत पुस्तकमा समेट्न सुझाएको थियो।
यस्तै, २०७५ सालमा अक्सफोर्ड विश्वविद्यालय, समता फाउन्डेशन लगायत संस्थाले तयार पारेको मर्यादाको खोजीमा दलित : शोध संक्षेप तथा नीतिपत्र विषयक अध्ययनपत्रमा त्यति वेलाको सामाजिक विषयका कक्षा ४ देखि १० सम्मका ५५ वटा पाठको परीक्षण गर्दा पनि दलित समुदायका व्यक्तिलाई स्थान नदिइएको उल्लेख छ। अध्ययनले पाठ्यसामग्रीमा जातीय विभेदलाई बढावा दिने खालका कुरा रहेको समेत औंल्याएको छ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०६३ अनुसार सामाजिक अध्ययन विषयमा कम्तीमा तीन ठाउँ (कक्षा ३, ६, १०) मा छुवाछूत र भेदभावबारे पढाइ हुने गरेकोमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले घटाएर एक ठाउँ (कक्षा ६) मा खुम्च्याइदिएको छ।
त्यस्तै, कक्षा ७ को सामाजिक पुस्तकको ‘महिला अधिकार’ पाठमा एउटा पात्रको भनाइ छ, ‘म पनि एक महिला नै हुँ। मैले परिवारमा सानैदेखि कुनै पनि भेदभाव भोग्नु परेन।’
यो वाक्यले समाजमा लैंगिक विभेद नै नरहे जस्तो आशय व्यक्त गरिरहेको छ। समाजशास्त्री मिश्रका अनुसार यस्ता विभेदको इतिहास संसारभरि नै लुकाउने अभ्यास देखिन्छ। “अमेरिकामा पनि काला जातिबारे गोरा जातिलाई कति पढाउने भन्नेमा ठूलो मतभेद छ,” उनी भन्छन्, “तर संविधानले यो जातिलाई अधिकार पुगेको छैन भनिसकेपछि त्यसैबारे पुस्तकमा बढी लेखिनुपर्ने हो।”
अनुसन्धाता जेबी विश्वकर्मा पनि पाठ्यक्रमले समाजको तहगत संरचनालाई सही रूपमा समेट्न नसकेको बताउँछन्। “कम्तीमा कक्षा १० सम्म पढ्ने विद्यार्थीले नेपाली समाजमा रहेका विभेद र तिनको कारणबारे जानकारी राख्नुपर्ने हो तर हाम्रो पाठ्यक्रमले यो विमर्श हुनै दिएन,” विश्वकर्मा भन्छन्।
असर कस्तो?
नेपालमा विद्यालय शिक्षा पुस्तकमा ‘निषेधित संशय : राष्ट्रिय इतिहास निर्माणमा पाठ्यपुस्तकको प्रयोग’ लेखमा लेखक प्रत्यूष वन्तले सन् १९७५ मा कक्षा ५ मा बलभद्र कुँवरबारे धेरै पढेको उल्लेख गरेका छन्। महेन्द्रमालामा ‘नालापानी’ र ‘वीर बलभद्र’ निबन्धमा उनलाई नेपाली राष्ट्रियताका चम्किला ताराका रूपमा गरिएको व्याख्या उनको दिमागमा छापिए जसरी बस्यो। पछि सन् १९९४ मा उही समयमा पढेका ११ जनालाई सबैभन्दा सम्झिरहने पाठ बताउन भन्दा १० जनाले नालापानी युद्ध बताएको वन्तले लेखेका छन्।
यसले पाठ्यपुस्तकका कुरा कलिला विद्यार्थीको मस्तिष्कमा कसरी गडेर बस्छ भन्ने देखाउँछ। यस्तोमा गलत कुरा सिकाइँदा जीवनभर त्यसैलाई सही मानिरहने जोखिम रहने चिकत्सा मनोविद् डा. अनुप भण्डारी बताउँछन्। भण्डारीका अनुसार बालबालिकाले अभिभावकभन्दा शिक्षकशिक्षिकाले भनेको र पुस्तकमा लेखिएको कुरामा बढी विश्वास गर्छन्। “उनीहरू सर-मिसले भनेकै यस्तो हो, मेरो किताबमा यस्तै लेखेको छ भनेर जिद्दी गर्छन्। कुनै विषयमा एक चोटि कुनै छाप परिसकेपछि गलत तै भए पनि मेटाउन सहज हुँदैन,” भण्डारी भन्छन्, “त्यसैले पाठ्यक्रममा सत्यतथ्य र आवश्यक विवरण मात्र दिइनुपर्छ।”
सुधार कसरी?
समाजशास्त्री मिश्र पाठ्यक्रम सुधार्न यसको निर्माण प्रक्रियादेखि नै संशोधन गर्दै जानुपर्ने बताउँछन्। पाठ्यक्रम विकास केन्द्रमा शिक्षक, कर्मचारी र दलका मानिस हावी हुने र पाठ्यक्रम लेखन पनि तिनैबीच बाँडिंदा त्रुटिपूर्ण हुन पुगेको उनको भनाइ छ।
“केही समयअघि मैले कक्षा ११ र १२ को सामाजिक विषयका लागि पाठको छनोट सूची बनाएको थिएँ, त्यसमा लेखकको छनोटदेखि तिनका लेखरचनामा रहेका पात्र, विषय, सन्देशसम्मलाई समावेशी बनाउनुपर्ने पक्षलाई ध्यान दिइएको थियो,” मिश्र भन्छन्, “तर शिक्षकलाई नयाँ कुरा पढ्न झन्झट हुने भन्दै नयाँ पाठ राख्न दिइएन।” उनका अनुसार छनोट टोलीले समावेशिताको कुराले समाजमा फाटो ल्याउने तर्क गरेको थियो।
शिक्षक इन्फादालाई कतिपय पाठ बदलिंदो शासकीय व्यवस्थामा असान्दर्भिक लागेका छन्। जस्तो- कक्षा ८ को ‘घरझगडा’ कथामा प्रयुक्त अधिराज्य जस्ता पुरानो शासकीय व्यवस्था झल्काउने शब्दहरू अहिले सान्दर्भिक नरहेको भन्दै उनी घरझगडाले पार्ने असर देखाउन पनि अहिलेकै समयसापेक्ष सामग्री तयार पार्न सकिने बताउँछन्। एउटै लेखकले धेरै कक्षाका पाठ्यपुस्तक लेख्नुलाई इन्फादा त्रुटि दोहोरिइरहनुको अर्को कारण मान्छन्।
“पाठ्यक्रम विकास केन्द्रका पूर्व कर्मचारी रमेश भट्टराईकी श्रीमती सुधा त्रिपाठीले कक्षा ८ देखि १२ सम्मका पुस्तकमा कथा, निबन्ध लेखेकी छन्। यसरी कर्मचारीले आफ्ना मान्छेलाई अवसर दिंदा विद्यार्थीहरू धेरै साहित्यकारसँग परिचित नै हुन पाएका छैनन्,” उनी भन्छन्, “त्यसैले पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक लेखन, साहित्य छनोट, भाषा र समावेशितासम्मका कुरामा ध्यान दिन जरूरी छ।”
प्राध्यापक विन्दु शर्मा पाठ्यक्रम निर्माणका क्रममा महिला लेखकका सामग्रीलाई रोकतोक हुने गरेको बताउँछिन्। शर्माका अनुसार केही महीनाअघि कक्षा ९ को पुस्तकका लागि हरिमाया भेटवालको ‘कतामरी’ नाटक प्रारम्भिक छनोटमा पर्यो। त्यसको कथावस्तु काठमाडौंको कुमारी प्रथामा आधारित छ।
संस्कार-संस्कृतिका नाममा बालबालिकाको खेल्ने स्वतन्त्रता हनन भएको आलोचनात्मक चेत बोकेको नाटकलाई पछि हटाइयो। “यसरी मुश्किलले एक-दुई जना महिला लेखन कार्यमा पुग्नुहुन्छ तर उहाँहरूलाई लडाइन्छ,” शर्मा भन्छिन्, “अहिले शिक्षकभन्दा कर्मचारीको रुचिले सिर्जना छनोट भइरहेको छ, यस्तो संरचना तोडिनुपर्छ।”
अध्येता प्रमोद भट्ट पाठ्यपुस्तक लेख्ने तरीका नै परिवर्तन गर्नुपर्ने ठान्छन् । “यहाँ जो कोही व्यक्तिले पाठ्यपुस्तक लेखिरहेको सुनिन्छ । जबकि राम्रो पाठ्यपुस्तक तयार गर्ने काम संसारमै असाध्यै गाह्रो काममध्ये पर्छ,” उनी भन्छन्,“पाठ्यसामग्री विकास गर्ने र तिनबाट उत्तम सामग्रीलाई समेटेर पाठ्यपुस्तक तयार गर्ने टिम नै छुट्टाछुट्टै हुनुपर्छ, लेखेपछि पनि प्रकाशनअघि समीक्षा हुन जरुरी छ ।”
पाठ्यक्रम विकास केन्द्रका प्रमुख वैकुण्ठप्रसाद अर्याल भने नेपाली पाठ्यपुस्तकहरू विज्ञहरूले नै लेखेको तर केही त्रुटि देखिएकाले सच्याउँदै लैजाने बताउँछन्। पाठ्यक्रम निर्माणमा विज्ञलाई समेट्न सार्वजनिक सूचनाबाटै आह्वान गर्ने गरिएको अर्यालको भनाइ छ।
उपत्यका बाहिरका विज्ञलाई पनि सहभागी बनाइने गरेको उनी सुनाउँछन्। “तैपनि हाम्रा पाठ्यपुस्तकमा सुधार्नुपर्ने ठाउँ प्रशस्त छन् जुन आजको भोलि सम्भव हुँदैन,” अर्याल भन्छन्, “सुधार कहिल्यै पूर्ण हुँदैन पनि। व्यवस्थित बनाउँदै लैजाने हो।”
शिक्षाविद् केदारभक्त माथेमा भने शैक्षिक सामग्रीमा थोरै त्रुटि पनि अस्वीकार्य हुने भन्दै गलत कुरा लेख्ने लेखक र सम्पादकलाई बर्खास्त गर्नुपर्ने बताउँछन्। पाठ्यक्रमको तह अनुसार भाषा र तथ्य जाँच गर्न सक्ने योग्य सम्पादक चाहिने माथेमाको भनाइ छ।
योग्य लेखक, भाषाविद् र सम्पादक छानिएपछि विज्ञ समितिमा पनि त्यत्तिकै क्षमतावान् व्यक्तिहरू राखिनुपर्छ। “शिक्षा क्षेत्रमा जे पनि कामचलाउ भयो। यस विरुद्ध शून्य सहनशीलता हुनुपर्छ,” माथेमा भन्छन्, “गलत सिकाइले विद्यार्थीको भविष्य बर्बाद हुँदै छ।”