तिलिचो पदयात्राले बदलिएको बाटो
घुमफिरमा खासै रुचि नभएकी प्रतीक्षा कार्की पदयात्राका क्रममा तिलिचो ताल पुगेपछि भने जीवनको बाटो नै फेरिएको बताउँछिन्।
प्रतीक्षा कार्की सिक्किममा जन्मेहुर्केकी हुन्। उनी पहिलो चोटि बाल्यावस्थामै नेपाल आएकी थिइन्। अर्को चोटि पूर्वी नेपालमा रहेका आफन्त भेट्न आइन्।
सन् २०१९ मा नेपाल आएर मनाङको तिलिचो तालसम्म पदयात्रा गरेपछि भने उनको जीवन फेरियो। त्यस बखतको यात्रा र दृश्यले उनलाई यति लोभ्यायो कि सन् २०२२ यता उनी प्रत्येक महीनाको अन्तरालमा नेपाल आउने गरेकी छिन्।
“मलाई यात्रामा उति चासो थिएन,” २६ वर्षीया फिरन्ते भन्छिन्, “परिवारले बारम्बार संसार चिन्नुपर्छ भनेर घचघच्याएपछि लाग्यो- यात्रा मार्फतै आफ्नो स्वतन्त्रता किन स्थापित नगरूँ?”
रसायनशास्त्रमा स्नातक उनी अहिले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिरहेकी छन्। पढाइसँगै उनको अर्को काम पदयात्रा बनेको छ।
प्रतीक्षा मुख्यतः आफ्नो यात्रावृत्तान्त इन्स्टाग्राम मार्फत सार्वजनिक गर्छिन्। दर्शक स्वतः आऊन् भन्ने मान्यता बोक्ने उनी सक्रिय भई भिडिओको प्रचार गर्दिनन्। इन्स्टाग्राममा उनका एक लाख १४ हजारभन्दा बढी फलोअर्स छन्।
“शुरूशुरूमा क्यामेरा देखेपछि तर्किन्थें। मेरा पहिले पहिलेका भिडिओमा आफूलाई भन्दा आफू पुगेको ठाउँतिर क्यामेरा तेर्स्याएको प्रस्ट देखिन्छ,” प्रतीक्षा भन्छिन्।
हिमालखबरको सम्पर्कमा आउँदा उनी काठमाडौंमै थिइन्। उनी ककनी जाने योजनामा थिइन्।
तिलिचो किनारमा उभिएर भीमकाय हिमपर्वतको फेदमा अवस्थित आकाश जस्तो नीलो तलाउमा हेर्दै गर्दा उनमा यो संसार अझै चियाउन उत्प्रेरित गराउने ज्वारभाटाहरू उत्पन्न भएका थिए। उनी भन्छिन्, “मलाई तिलिचोले जस्तो कुनै पनि ठाउँले यात्रा गर्न जगाएको छैन।”
(नेपाली टाइम्सबाट गरिएको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)
यो पनि पढ्नुहोस् :