पोखराको पुरानो विमानस्थलमा बनाइँदै मानवीय सहायतास्थल
विपत्को पूर्व तयारीका लागि पोखरामा मानवीय सहायतास्थलको निर्माण गरिंदै छ।
पोखरामा आपत्कालीन तथा विपत्को अवस्थामा अत्यावश्यक सहायतास्थलको निर्माण प्रक्रिया अघि बढेको हो। नेपाल सरकार, यूरोपेली संघ, विश्व खाद्य कार्यक्रम र नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा गण्डकी प्रदेशलाई लक्ष्यित गर्दै पोखराको पुरानो विमानस्थलमा मानवीय सहायतास्थल निर्माण शुरू भएको छ।
आपत्कालीन तथा संकटको अवस्थामा मानवीय सहायतास्थलमा अत्यावश्यक राहत सामग्रीको भण्डारण गरिनेछ। त्यस्तै, ढुवानी तथा उद्धारका लागि आवश्यक पर्ने उपकरण, गोदामघर, कार्यालयका लागि आवश्यक प्रिफ्याब घरहरू, गह्रौं सामग्री उठाउन चाहिने ज्याक लिफ्ट, जेनेरेटरहरू सहितका सामग्री रहनेछन्।
मानवीय सहायतास्थलले आपत्कालीन अवस्थामा स्थलमार्ग तथा हवाई माध्यम मार्फत ढुवानी संयोजन गर्न सहयोग पुर्याउने उद्देश्य राखिएको छ। झण्डै दुई करोड रुपैयाँ (१६१ हजार अमेरिकी डलर)को लागतमा पोखरामा मानवीय सहायतास्थल निर्माण गर्न लागिएको हो।
बागमती प्रदेशको त्रिभुवन विमानस्थलमा, सुदूरपश्चिमको धनगढी र बैतडीमा, लुम्बिनीको नेपालगन्ज र भैरहवामा, कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा, मधेश प्रदेशको वीरगन्ज र बर्दिबासमा तथा कोशी प्रदेशको विराटनगर र तेह्रथुममा गरी देशैभर ११ ठाउँमा मानवीय सहायतास्थल बनेका छन्। गण्डकी प्रदेशको पोखरामा शुरू भएको सहायतास्थल १२औं संरचना हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विपत्को अवस्थाका लागि पोखरामा मानवीय सहायतास्थल बन्नु महत्त्वपूर्ण हुने बताए। सहायतास्थलले विपत्मा समन्वय र सहजीकरणमा प्रभावकारिता ल्याउने घिमिरेको भनाइ छ।
२०७१ चैतमा पहिलो पटक त्रिभुवन विमानस्थलमा सञ्चालन भएको सहायतास्थल २०७२ सालको महाभूकम्प जाँदा राहत र उद्धारको केन्द्र नै बनेको विश्व खाद्य कार्यक्रमका ईपीआर परियोजनाका अधिकारी मोती थापाले बताए। पूर्व तयारीका कारण नै महाभूकम्प जाँदा राहत भण्डारण र वितरण सहज र द्रुत गतिमा भएको थापाले सुनाए। उनले गण्डकी आसपासका क्षेत्रमा हुन सक्ने विपत्का लागि पूर्व तयारी स्वरूप पोखरामा मानवीय सहायतास्थल निर्माण थालिएको बताए।
आउँदो असार महीनाभित्र पोखरामा सहायतास्थलको निर्माण पूरा भइसक्ने विश्व खाद्य कार्यक्रमकी सञ्चार अधिकृत मोनिका उपाध्यायले बताइन्।
यो पनि पढ्नुहोस् : पोखराबाट १६ रुपैयाँमा काठमाडौं उडाउने त्यो विमानस्थल