फिफा विश्वकप छनोटमा आज बहराइनसँग भिड्दै नेपाल
फिफा विश्वकप तथा एएफसी एशियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल आज राति बहराइनसँग प्रतिस्पर्धा गर्दै छ।
बहराइनको राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार आज राति १२ः४५ बजेदेखि खेल शुरू हुनेछ। दशरथ रंगशालाको मैदान खेल्न उपयुक्त नभएपछि नेपालले होम एन्ड अवेका दुवै खेल बहराइनमा नै खेल्न लागेको हो।
राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनसँग खेल्न नेपाली टोली उत्साही रहेको बताए। नेपालभन्दा बहराइन शारीरिक र मानसिक रूपमा बलियो टोली भएको उनको भनाइ थियो। नेपालको तयारी छोटो समयको भए पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास रहेको एनेसले बताए।
नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फूटबलमा बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले मलेशियासँग अभ्यास खेल खेलेको थियो। नेपाली टोली मलेशियाबाट सीधै बहराइन गएको हो।
नेपाल पहिलो चरणको खेलमा लाओसलाई १-० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो। समूह ‘एच’ मा रहेको नेपालले यसअघि दुई खेल खेलिसकेको छ। संयुक्त अरब इमिरेट्स विरुद्धको अवे खेलमा ४-० गोलअन्तरले स्तब्ध भएको थियो भने घरेलु मैदानमा भएको यमन विरुद्धको खेलमा २-० ले हार बेहोरेको थियो। त्यसैले नेपाल अंकविहीन छ।
नेपालको समूहमा बहराइन, यमन र यूएई छन्। नेपाली फूटबल टोलीमा गोलकीपर किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार छन्। त्यस्तै, डिफेन्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित) र सुमित श्रेष्ठ छन्।
मिडफील्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, समीर तामाङ, सञ्जीव विष्ट, हिसुब थपलिया र जिलेस्पीजंग कार्की छन्।