विभेदलाई मलजल गर्दै सामाजिक सञ्जाल
समाजमा रहेको जातीय विभेदलाई अहिले सामाजिक सञ्जालले मलजल गरिरहेको एक कार्यक्रमका सहभागीले औंल्याएका छन्।
एक वर्षअघि धरान उपमहानगरका मेयर हर्क साम्पाङले फेसबूकमा जातीय द्वेषपूर्ण अभिव्यक्ति दिए। २०७९ मंसीर २८ मा मेयर साम्पाङले लेखेका थिए, ‘जोरी खोज्नेको वास उठ्न सक्छ। बल होइन बुद्धि लगा चमारे बुद्धि।’
उनको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भयो। राष्ट्रिय दलित आयोगले अभिव्यक्ति सच्याई दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न निर्देशन दियो।
मेयर साम्पाङको अभिव्यक्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै डिजिटल राइट नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले भने, “रूपा सुनारको मुद्दामा कोठा र कोटाका मिम सामाजिक सञ्जालमा भाइरल बनाइयो।”
यस्तो हुनुमा पहुँचवालाको समूह नै इन्टरनेटमा हावी भएको सिग्देलले उल्लेख गरे। त्यसका लागि हालै प्रकाशित नेपालको जनगणना, २०७८ का तथ्यांक जोडे। सामाजिक सञ्जाल प्रयोगकर्ता एक करोड ३३ लाख छन्। त्यस्तै, देशभर ७३ प्रतिशतसँग स्मार्टफोन, १५ प्रतिशतसँग कम्प्युटर र ल्यापटप र ३९.८ प्रतिशतसँग इन्टरनेटको पहुँच छ। यसले कुन समुदाय, जात र लिंग भन्ने तथ्यांक नदेखाउँदा सामाजिक सञ्जालको पहुँच आकलन गर्न नसकिएको उनले औंल्याए।
समाजमा भएको जातीय विभेद नै सामाजिक सञ्जालमा प्रतिबिम्बित भइरहेको सिग्देलको भनाइ थियो। “पहिला इन्टरनेटले जात, लिंग चिन्दैन भन्ने धारणा थियो तर प्रविधि मान्छेले चलाउँछ र मान्छेका पूर्वाग्रहका कारण यो भइराखेको छ,” सिग्देलले भने।
उनले जातीय विभेदलाई मलजल गर्ने ठाउँ सामाजिक सञ्जाल बनेको बताए। “पहिला एक जनाले एक जनालाई विभेद गर्न सक्थे, अब एक जनाले धेरैलाई एकै पटक विभेद गर्ने माध्यम बन्यो,” सिग्देलले भने।
त्यस्तै, डिग्निटी इनिसिएटिभका कार्यक्रम संयोजक रूप सुनारले पनि सामाजिक सञ्जालका कारण एक व्यक्तिले लाखौं व्यक्तिलाई विभेद र आत्मसम्मानमा चोट पुग्ने गतिविधि गरिरहेको बताए। “एक स्टेटसले संसारभर एकै पटक द्वेष फैलाउने भयो,” सुनारले भने।
सामाजिक सञ्जालमा हुने विभेदयुक्त अभिव्यक्तिलाई लिएर डिग्निटी इनिसिएटिभ र डिजिटल राइट नेपालले ‘कास्ट इन डिजिटल स्पेस’ छलफल कार्यक्रम गरेको थियो। काठमाडौंमा आयोजित कार्यक्रमका सहभागीले सामाजिक सञ्जालका कारण जातीय विभेदका घटना फरक ढंगले आइरहेको बताएका छन्।
अधिकारकर्मी रीता परियारले भने मान्छेलाई मान्छे नभन्ने समाजमा डिजिटल हिंसाको कुरा गर्नुपर्दा आफू छक्क परेको बताइन्। “दलितलाई मान्छेको दर्जामा राखेको छैन। जातीय विभेद तथा छुवाछूतको घटनामा कमी आएको छैन,” परियारले भनिन्। समाजबाट विभेद अन्त्य नहुँदा त्यसको प्रतिबिम्ब सामाजिक सञ्जालबाट फैलिने उनको भनाइ थियो।
त्यस्तै, लेखक तथा अनुसन्धाता रीता बरामूले सामाजिक सञ्जाल कसले चलाउँछ भन्ने प्रश्न गरिन्। सामाजिक सञ्जाल कसको पहुँचमा छ र कसले कन्टेन्ट बनाउँछ भन्ने कुराले प्रस्ट हुने बरामूले बताइन्। यसको अर्को पाटो कानून र जवाफदेहीका विषयमा छलफल र बहस गर्नुपर्नेमा उनले जोड दिइन्।
अनुसन्धाता जेबी विश्वकर्माले समाजमा जरा गाडेर रहेको जातव्यवस्था र पुरुषससत्ता नै अहिले सामाजिक सञ्जालमा आएको बताए। “सामाजिक सञ्जालमा जातलाई लिएर गरिने गालीगलौज कहाँबाट आएको हो? यसका पछाडिको मनोविज्ञान के हो?” विश्वकर्माले प्रश्न गर्दै भने, “विवादित अभिव्यक्ति दियो भने भाइरल हुन्छ, त्यसबाट आर्थिक रूपमा फाइदा हुन्छ। यसैले जातव्यवस्था र पुरुषसत्तालाई फैलाउन मद्दत गरेको छ।”