अरनिको पाँडे सहित चार जना योजना आयोगको सदस्य नियुक्त
राष्ट्रिय योजना आयोगको सदस्यमा डा. अरनिको पाँडे सहित चार जनालाई नियुक्त गरिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगमा चार सदस्य नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले बताइन्। नयाँ गठबन्धन बनेसँगै योजना आयोगका चार सदस्यले राजीनामा दिएका थिए।
उनीहरूका स्थानमा काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुशेन्द्रबहादुर महत, पाल्पाका प्राध्यापक शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाँडेलाई नियुक्त गरिएको हो।पाँडे राष्ट्रिय स्वतन्त्र पार्टी र बाँकी तीन जना नेकपा (एमाले)को कोटाबाट सदस्य बनेका हुन।
सत्ता गठबन्धन परिवर्तन भएसँगै सदस्यहरू प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, आरपी विच्छा र जयकान्त राउतले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा नयाँ सदस्यहरू नियुक्त भएका हुन।