सुन तस्करी प्रकरणमा महरासँग बयान लिइँदै
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन थालिएको छ।
कपिलवस्तुको पकडीबाट चैत ५ मा पक्राउ परेका महरासँग बुधबारदेखि बयान लिन शुरू गरिएको जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले जनाएको छ। महरासँग बयान लिन शुरू भएको र आज पनि बयान लिइने सरकारी वकीलको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।
जिल्ला अदालत, काठमाडौंले चार दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको छ। अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ।
सीआईबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद बिहीबार समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुन: म्याद थप गरिने सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए।
गत साउन २ मा ‘ब्रेक शू’ मा लुकाएर ल्याइएको साढे ६० किलोग्राम सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको नौ किलोग्राम सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको छ। त्यस वेला सीआईबीले उनीसँग बयान कागज गरेर छाडेको थियो। यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। उनी पुर्पक्षका लागि थुनामा छन्।
यो पनि पढ्नुहोस् : महराको राजनीतिक अवसान कि उन्मुक्तिको प्रपञ्च?