बयान दिएर फर्किए विनोद चौधरी (तस्वीरहरू)
बाँसबारी छाला जुत्ता कारखाना रहेको सरकारी जग्गा निजी स्वामित्वमा लगेको विषयमा सांसद विनोद चौधरीले बयान दिएका छन्।
चौधरीले जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंमा बिहीबार बिहान बयान दिएका हुन्। बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सांसद चौधरीले गलत काम नगरेको बताए। “मेरो ४५ वर्षको व्यावसायिक यात्रा हेर्दा हुन्छ, मैले इमानदारीपूर्वक काम गरेको छु,” चौधरीले भने।
बाँसबारीको १० रोपनी सरकारी जग्गा चौधरी परिवारको निजी नाममा ल्याउन कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ। सरकारी जग्गा हडपेको आरोपमा सांसद चौधरीका भाइ अरुण चौधरी, तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाका कार्यकारी निर्देशक अजितनारायणसिंह थापा र चाँदबाघ रेसिडेन्सीका प्रमुख सञ्जय ठाकुरलाई सीआईबीले माघ १८ गते कीर्ते कसूरमा पक्राउ गरेको थियो।
जिल्ला अदालत, काठमाडौंको आदेशबाट उनीहरू सबै छुटिसकेका छन्। सीआईबीले हिरासतमा राखेर अनुसन्धान गर्नैपर्ने पुस्ट्याइँ हुने आधार दिन नसकेको भन्दै तारेखमा छोडेर अनुसन्धान गर्न भनेपछि उनीहरू रिहा भएका थिए।
सांसद चौधरी यो जग्गा निजी स्वामित्वमा ल्याउने वेलाको कम्पनी च्याम्पियन फूटवेयरका संस्थापक शेयरधनी थिए। शक्ति र पहुँचको दुरुपयोग गरेर सरकारी जग्गा निजी बनाएको भन्दै सांसद चौधरीमाथि अनुसन्धान भइरहेको छ।
यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार प्रतिनिधि सभाका सभामुखलाई चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै पत्र पनि पठाएको थियो।