घाँटी रेटिएको अवस्थामा भेटियो किशोरीको शव
धरानमा घाँटी रेटिएको अवस्थामा एक किशोरीको शव भेटिएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूलबीचमा खोल्सीमा किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ। बाख्रा चराउने क्रममा स्थानीय बासिन्दाले शव देखेपछि स्कूलमा खबर गरेका थिए। त्यसपछि स्कूलका शिक्षकले इलाका प्रहरी कार्यालयमा खबर गरेको प्रहरीले जनाएको छ।
घटनास्थल पुगेको प्रहरी टोलीले खोल्सामा घोप्टो परेको अवस्थामा शव भेटेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताए। घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला परेको डीएसपी मल्लले बताए।
शव भेटिएको स्थानबाट केही मिटर दूरीमा सानो आकारको खुकुरी पनि फेला परेको छ। मृत भेटिएको किशोरीको पहिचान खुल्न सकेको छैन।
किशोरीको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। तालीमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।