प्रिमियम मूल्यमा शेयर बेचेको हिमालयन रिको मुद्दामा न्यायाधीशबीच राय बाझियो
हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा शेयर बिक्री गरेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीशबीच राय बाझिएको छ।
हिमालयन रि इन्स्योरेन्सले कानून विपरीत प्रिमियम मूल्यमा शेयर जारी गरेको भन्दै परेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र कैलाशप्रसाद सुवेदीबीच राय बाझिएको हो।
प्रिमियम मूल्यमा सर्वसाधारणलाई निष्कासन गरिएको प्राथमिक शेयरबाट उठेको प्रिमियम रकम छुट्टै कोषमा राख्न पर्ने कि नपर्ने भन्ने विषयमा दुई न्यायाधीसबीच मतैक्य हुन सकेन । यद्यपि, अदालतले प्रिमियम मूल्यलाई बदर भने गरेन । *
हरिबहादुर केसीले हिमालयन रिइन्स्योरेन्सले कानून विपरीत प्रिमियम मूल्य तोकी प्राथमिक शेयर बिक्री गरेको भन्दै अदालतमा रिट दायर गरेका थिए। हिमालयन रिले प्रतिशेयर अंकित १०० रुपैयाँ दरको शेयरलाई १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले गत मंसीरमा सर्वसाधारणका लागि बिक्री गरेको थियो।
सञ्चालनमा आएको तीन वर्ष नभई प्रिमियम मूल्यमा शेयर बिक्री गर्न कम्पनी ऐन, २०६४ ले रोक लगाएको छ। तर नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गर्दै हिमालयनलाई प्रिमियम मूल्यमा शेयर बिक्री गर्ने बाटो खोलिदिएको थियो।
रिट निवेदक केसीले ब्यांक, बीमा जस्ता ऐनमा नै सर्वसाधारणलाई अनिवार्य शेयर जारी गर्नुपर्ने भनी तोकिएका कम्पनीले प्रिमियम मूल्य लिन नपाउने तर्क गरेका छन्।
*सच्याइएको
यो पनि पढ्नुहोस् नेता, व्यवसायी र नियामकको मिलिभगतमा सर्वसाधारणबाट ६ अर्ब उठाउँदै हिमालयन रिइन्सुरेन्स