सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सीआईबीको पत्र
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ।
सीआईबीले बुधबार सभामुखलाई अनुसन्धान भइरहेको विषयमा जानकारी गराएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए। “बाँसबारी छाला जुत्ताको जग्गाका विषयमा सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा सभामुखलाई जानकारी गराएका हौं,” बोगटीले हिमालखबरसँग भने।
काठमाडौं महानगरपालिका-३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको उजुरीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ। यसअघि सीआईबीले सांसद चौधरीका भाइ व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको थियो।
उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि हाजिरी जमानीमा छोड्न आदेश दिएको थियो। अदालतको आदेशपछि उनी रिहा भइसकेका छन्।
बाँसबारीको सरकारी जग्गा च्याम्पियन फूटवेयरको नाममा लगिएको थियो। त्यसका संस्थापक शेयरधनी तथा सञ्चालक समिति सदस्य रहेका सांसद चौधरीमाथि पनि सीआईबीले अनुसन्धान थालेको हो।
सांसद चौधरी २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।