कोरोनाले बितेका पिताका नाममा खुलेको भोला फूड्स
स्थापनाको दुई वर्षमा २० जनालाई प्रत्यक्ष रोजगार दिइरहेको भोला फूड्सलाई तीन वर्षभित्र १०० स्थानमा विस्तार गर्ने श्वेताको योजना छ।
युवा पुस्ता नेपालमा भविष्य देख्नै छाडिरहेछ। यहाँको बजार उसलाई साँघुरो लाग्छ। त्यसैले धेरैको रोजाइ विदेश बनिरहेछ। काठमाडौंमा जन्मेहुर्केकी श्वेता पाण्डेले भने फरक सोचिन्। यही सोचाइले उनलाई व्यापारमा स्थापित र परिचित बनाउँदै लगेको छ।
काठमाडौंमा स्नातक तह पूरा गरेपछि श्वेता स्नातकोत्तर गर्न भारतको प्रतिष्ठित कलेज सिम्बियोसिस् पुगिन्। व्यवस्थापनमा स्नातकोत्तर सकेपछि भारतमै प्रतिष्ठित कम्पनी बजाज अलियान्समा ‘डेटा’ केलाउने काम गरिन्। यसले एक्सेल चलाउन पोख्त बनाइदियो। जागीर राम्रै भए पनि भारतमा उनको मन अडिएन। स्वदेश नै फर्कूं फर्कूं लाग्यो।
परिवारलाई आफ्नो इच्छा सुनाइन्। तर व्यापारी बुबा वीरेन्द्रबहादुर पाण्डे खुशी थिएनन्। कारण- माओवादी द्वन्द्व उत्कर्षमा रहेको त्यो वेला देशमा संकटकाल थियो। व्यावसायिक वातावरण झन् झन् बिग्रिरहेको थियो।
बुबाको चित्त नदुखाउन श्वेता भारतबाटै नेपालमा जागीर पक्का गरेर आइन्- हिमालय टेक्नोलोजीमा। सूचना प्रविधि क्षेत्रको यो कम्पनी भर्खरै फस्टाउँदै थियो। त्यसपछि गोल्यान समूहमा काम गरिन्। त्यहाँ पस्मिनाको अन्तर्राष्ट्रिय बजारीकरणको काम गरिन्। यसले उनलाई वस्तु वा सेवाको बजारीकरण कसरी गर्ने भन्ने सिकायो।
त्यसपछि होटल बूकिङ गरिदिने बहुराष्ट्रिय अनलाइन पोर्टल ओयोका लागि काम गरिन्। यसबाट कम्पनीको लक्ष्य के हुनुपर्छ र त्यसलाई प्राप्त गर्न के गर्नुपर्छ भन्ने सिकिन्।
यी कुनै पनि जागीरमा उनी धेरै समय टिकिरहन भने सकिनन्। “जुन जागीर पनि वर्षदिन जति गरेपछि सिक्नुपर्ने कुरा सिकिसकें भन्ने लाग्थ्यो। जहिल्यै उस्तै दैनिकी दोहोरिंदा दिक्क लाग्थ्यो,” श्वेता भन्छिन्, “कुनै पनि काममा नयाँपन नआउनु भनेको तपाईंले साँच्चै काम गरिरहनुभएको छैन भन्ने हो।”
बेलायती मूर्तिकार हेनरी मुर पनि भन्थे, ‘जब काम दोहोरिन्छ तब सिर्जनात्मकता मर्छ।’ यही चञ्चलताले श्वेतालाई आफ्नै व्यवसाय शुरू गर्ने हुटहुटी जगाइदियो।
कोभिड-१९ महामारीले संसार हल्लाइरहेको समय थियो त्यो। बन्दाबन्दीले मानिसहरू कोठामै थुनिएका थिए। श्वेताको परिवारमा भने वज्रपात नै भयो। कोरोनाले बुबाको मृत्यु भयो। आमाछोरी लामै समय विक्षिप्त रहे। समयसँगै श्वेताले आफूलाई सम्हाल्दै लगिन्। बुबाको शेयर कारोबार अब उनैले हेर्न थालिन्। सँगै डिजिटल मार्केटिङ कम्पनी खोल्ने योजना बनाइन्।
त्यसअघि आमा रीताका लागि बुबाको नियास्रो मेटाइदिने तारतम्य मिलाइदिनु थियो। पतिको निधनपछि उनी मन बहलाउन अनाथालय गई आश्रितहरूलाई खाना खुवाउन थालेकी थिइन्। श्वेताको मनमा प्रश्न थियो- ‘यसरी सधैं कसरी पुर्याउन सकिएला?’
तब उनी आमाको कामलाई कसरी दिगो बनाउने भनेर सोच्न थालिन्। त्यही क्रममा जुक्ति आयो- घरमै व्यावसायिक रूपमा खाना पकाएर कार्यालयहरूमा लगिदिने। आएको नाफाले आमाको परोपकारी काम पनि अघि बढाउने।
कोभिड-१९ ले मानिसहरूबीच सामाजिक दूरी बढाएको स्थितिमा यस्तो शैलीको व्यवसाय सफल हुने उनलाई लाग्यो। त्यसअघि दुई वटा मेलामा आमाछोरी मिलेर राखेको खानाको स्टलले राम्रै प्रशंसा पाएको थियो। यसले पनि हौसला दियो। अनि आमाछोरीले घरमै खाना-खाजा पकाएर ग्राहकसम्म पुर्याउन थाले। यो कामलाई औपचारिक नाम दिए- भोला फूड्स।
श्वेताका बुबालाई आफन्तहरू भोला भनेर बोलाउँथे। त्यही नाममा खोलिएको कम्पनीले दुई वर्षमै उचाइ लिएको छ। श्वेता अहिले ढुक्कले यसैमा लागिरहेकी छन्। भन्छिन्, “शुरूका दिनमा त साथीभाइलाई फोन गरेर अर्डर गर्न अनुरोध गर्नुपरेको थियो, अहिले बल्ल कम्पनीले गति लेला जस्तो भएको छ।”
ग्राहकलाई खाना-खाजा उपलब्ध गराउने भोला फूड्सले खासगरी मध्यम वर्गलाई लक्ष्यित गरेको छ। श्वेताले पहिलो संस्थागत ग्राहक पनि साथी मार्फत नै पाएकी थिइन्। ‘द लन्ड्री ब्याग’ चलाउने साथी हनी अग्रवालले आफ्ना १०-१५ कर्मचारीका निम्ति खाना उपलब्ध गराइदिन प्रस्ताव गरेकी थिइन्।
ललितपुर, महालक्ष्मीस्थानस्थित घरको भान्सा बिस्तारै व्यस्त हुन थाल्यो। संस्था र घरहरूमा खाना पुर्याउँदै गर्दा श्वेतालाई लाग्यो- अब ग्राहकहरू आएर खान मिल्ने गरी ‘आउटलेट’ पनि राख्नुपर्छ।
तब उनले मध्यबानेश्वरस्थित पुर्ख्यौली घरमा शाखा खोलिन्। त्यहीं व्यवस्थित भान्सा पनि बनाइन्। भोला फूड्सको भान्सा अहिले बिहानदेखि राति अबेरसम्मै व्यस्त हुन्छ। खाना बनाउने, पुर्याउने, भाँडा माझ्ने काम निरन्तर चलिरहन्छ। “हामीकहाँ खाना-खाजा सबै १५०-२०० रुपैयाँ हाराहारीमा पाइन्छ। हाम्रा लक्ष्यित ग्राहक बिहान-बेलुका खाना पकाउन समय नभएका विद्यार्थी र मध्यमवर्गीय परिवार हुन्,” श्वेता भन्छिन्।
लागिपरिरहँदा एक दिन श्वेताले नसोचेको ग्राहक भेटिन्- होटल दुसित प्रिन्सेस। लाजिम्पाटमा खुल्दै गरेको होटलका लागि शुरूमा ५० जनालाई दिनको दुई पटक खाजा-खाना पुर्याउनुपर्ने भयो। “शुरूको दुई साता त हाम्रो खाना कसैले रुचाएन,” श्वेता सम्झन्छिन्, “लाग्यो- हामीले ठूलो जमातलाई खाना पकाउन जानेकै रहेनछौं।”
कहिले भात काँचै हुन्थ्यो त कहिले दाल-तरकारी बिग्रन्थ्यो। कति पटक पकाएको सबै कुरा मिल्काउनुपर्यो। प्रत्येक पटक गुनासो आउँदा श्वेता आफैं गएर माफी मागिन्।
दुसितमा पठाउने खाना गुणस्तरीय बनाउन नसक्दासम्म अरू ग्राहक नथप्ने प्रतिबद्धता जनाएकी थिइन्। सुधार्नुपर्ने ठाउँहरू बुझ्दै गएपछि अहिले खासै गुनासो आएको छैन। “त्यसैले आठ महीनापछि पनि हामी त्यहीं दैनिक झन्डै २०० जनालाई खाना-खाजा पठाइरहेछौं,” श्वेता भन्छिन्।
भोला फूड्समा अहिले २० जनाले प्रत्यक्ष रोजगार पाएका छन्। ग्राहक पनि बढ्दै गएका छन्। श्वेताकै घरमा काम गर्ने सविता थापा मगर अहिले भोला फूड्सकी ‘हेड कूक’ बनेकी छन्। बाहिरी ग्राहकसम्म खाना पुर्याउने जिम्मेवारी सुदीप देउलाले सम्हालेका छन्। उनीहरूको व्यावसायिक रूपान्तरणले आफूलाई भित्रैदेखि सन्तुष्टि दिएको श्वेता बताउँछिन्।
श्वेताका अनुसार अहिलेसम्म कम्पनीको लगानी झन्डै ५० लाख रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय व्यापारविज्ञहरू कम्पनी खोल्दा आठ वर्ष टिक्ने पूँजी र रणनीति लिएर आउनुपर्ने बताउँछन्। भोला फूड्स भर्खर दुई वर्ष भएको छ। त्यसैले उनी पनि अहिल्यै औधी नाफा खोज्नतिर लाग्नुभन्दा शाखा विस्तारमा लाग्ने सुनाउँछिन्।
श्वेताले खोलेको डिजिटल मार्केटिङ कम्पनी सिनर्जी प्लस अहिले पति आर्जन धितालले जिम्मा लिएका छन्। १३ वर्ष अस्ट्रेलिया बसेर आएका धितालको रेस्टुरेन्ट र होटल क्षेत्रको अनुभव पनि भोला फूड्सलाई उपयोगी बनेको छ।
श्वेताको योजना छ- यही आर्थिक वर्षमा अरू तीन वटा शाखा विस्तार गर्ने। तेस्रो वर्षमा १०० वटा पुर्याउने। तर आर्थिक मन्दीले यसमा चुनौती थपिरहेको छ। रकम भुक्तानीका लागि पटक पटक ताकेता गरिरहनुपर्दा आयव्ययको चक्र बिथोलिइरन्छ। “व्यवसायको चुनौती नै त्यही चक्रलाई चलाउनु हो,” उनी भन्छिन्, “नेपालमा यस्तो चुनौती अलि बढी नै छ।”
३५ वर्षीया श्वेताको अब एउटै ध्याउन्न छ- भोला फूड्सलाई झन् उचाइमा पुर्याउने। यसका लागि व्यापार-व्यवसाय सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास पनि बरोबर बुझिरहेकी हुन्छिन्। उनी डोनल्ड कियोको टेन कमान्डमेन्ट अफ बिजनेश फेलिएर किताब पढ्ने योजनामा छिन्। यसमा व्यापार-व्यवसायमा के के गल्ती गर्न हुँदैन भन्ने फेहरिस्त छ।
श्वेताले कलेजमै पढेकी हुन्- ‘थिंक ग्लोबल, एक्ट लोकल।’ यो कुरा व्यवसायमा पनि लागू गर्ने प्रयास गर्दै छिन्। भन्छिन्, “मैले न ठूलो काम गरेकी हुँ न त नौलो। तर यसले धेरैभन्दा धेरैलाई रोजगार दिन सक्यो, राज्यले केही कर पाउन सक्यो भने मलाई साँच्चै खुशी लाग्नेछ।”