सरकार र स्वर्गद्वारी गुठीपीडितबीच दुईबुँदे सहमति
सरकार र स्वर्गद्वारी गुठीपीडित किसानबीच दुईबुँदे सहमति भएको छ।
बुधबार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा भएको छलफलपछि स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिसँग सहमति जुटेको हो। भूमि व्यवस्थामन्त्री बलराम अधिकारीको उपस्थितिमा सहमति भएको संघर्ष समितिका सदस्य भुवन चौधरीले बताए।
नेपालको संविधान, २०७२ ले गुठी सम्बन्धमा गरेका व्यवस्थाहरू व्यवस्थित गर्न साथै हाल स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानको मागलाई सम्बोधन हुने गरी नयाँ एकीकृत गुठी सम्बन्धी कानून तर्जुमाको प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको छ।
त्यस्तै, संघर्षरत मोही किसानले विभिन्न माग राखी यसअघिदेखि गर्दै आएका संघर्षका सम्पूर्ण कार्यक्रम आजका मितिबाट स्थगन गरी गुठी सम्बन्धी आवश्यक कानून तर्जुमा प्रक्रियामा प्रतिनिधिमूलक ढंगले सम्बन्धित निकायलाई आवश्यक सल्लाह, सुझाव तथा सहयोग उपलब्ध गराउने सहमति बनेको छ।
सहमतिमा सरकारका तर्फबाट गठित वार्ता समितिका संयोजक भूमि व्यवस्था मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटा र स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका संयोजक प्रभु चौधरी लगायतले हस्ताक्षर गरेका छन्।
स्वर्गद्वारी गुठीमा बसोबास गरिरहेका किसानले मोहियानी हकको माग गर्दै आन्दोलन गरिरहेका थिए। उनीहरू तीन दिनअघि मात्रै काठमाडौं पुगेका थिए।