चार दशकमा प्रकोपबाट नौ खर्ब ३० अर्बको क्षति
नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरी जस्ता प्रकोपबाट गत चार दशकमा सात अर्ब अमेरिकी डलर (अहिलेको मूल्यमा नौ खर्ब ३० अर्ब रुपैयाँ)को क्षति भएको तथ्यांक सार्वजनिक गरिएको छ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको समावेशी बीमा र जोखिम वित्त सम्बन्धी नयाँ प्रतिवेदनले सन् १९८० देखि २०२० सम्मको ४० वर्षमा प्रकोपबाट सात अर्ब अमेरिकी डलर बराबरको क्षति भएको उल्लेख गरेको हो। यस्तो क्षतिले देशको आर्थिक विकासको गतिमा प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ।
अहिलेसम्म भएको क्षतिमध्ये सर्वाधिक ठूलो क्षति २०७२ सालको गोरखा भूकम्पको थियो। यो भूकम्पले मात्रै कुल आर्थिक क्षतिको ८५ प्रतिशत क्षति पुर्याएको प्रतिवेदनमा उल्लेख छ।
विपत् उद्धार तथा प्रतिकार्यका लागि नेपाल सरकारले सन् २०१२ देखि २०२० को आठ वर्षमा ५० अर्ब रुपैयाँ खर्च गरेको छ। यसले दीर्घकालीन रूपमा आर्थिक जोखिमलाई घटाउने खालका संयन्त्रहरूको आवश्यकता देखाएको प्रतिवेदनमा उल्लेख छ।
यसलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, नेपालले बीमा र वित्तीय जोखिम न्यूनीकरण सम्बन्धी पहल शुरू गरेको जनाएको छ। विश्वका ३० भन्दा बढी देशमा यूएनडीपीले लागू गरेको यो पहलले बीमा र वित्तीय जोखिम न्यूनीकरणका संयन्त्रको उपयोगबाट वित्तीय उत्थानशीलतालाई सहयोग गर्ने उल्लेख छ।
प्रतिवेदनले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित १० देशमध्ये नेपाल एक रहेको र नेपाल बाढी, पहिरो, भूकम्प र खडेरीको उच्च जोखिममा रहेको उल्लेख गरेको छ।
विभिन्न खालका बीमा कार्यक्रमले न्यून आय भएका र संकटासन्न नेपाली घरपरिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने भए पनि बीमाबारे सचेतनाको कमी र तथ्यांकको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ। जसकारण बीमा बजार अझै पनि समग्र रूपमा समावेशी हुन सकेको छैन।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा यूएनडीपीका आवासीय प्रतिनिधि आयशानी मेडागांगोडा लाबेले बीमा र वित्तीय जोखिम न्यूनीकरण मार्फत सम्भावित जोखिम घटाउन सकिने बताइन्। यूएनडीपीले शुरू गरेको पहलले बीमासँग सम्बन्धित कानूनी र नियामक वातावरण सुधार गर्न अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जस्ता सरकारी साझेदारहरूसँग मिलेर काम गर्ने उनले बताइन्।
यसले महिला, किसान र व्यवसायहरू जस्ता संकटासन्न समूहको वित्तीय सुरक्षा सम्बन्धी आवश्यकता पहिचान गर्न र ग्राहककेन्द्रित बीमा उत्पादन ल्याउन सहयोग गर्नेछ।