प्रधानमन्त्रीबाट जालसाजीपूर्ण प्रचार गरियो : बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जालसाजीपूर्ण प्रचार गरेको बताएका छन्।
अध्यक्ष भट्टराईले बुधबार पत्रकार सम्मेलन गरी माओवादीसँग एकता नभएको प्रस्ट्याएका छन्। नेसपाका केही नेता माओवादीमा गएको र त्यसलाई जालसाजीपूर्ण प्रचार गरिएको उनको भनाइ थियो।
“आन्दोलनका क्रममा थकाइ लागेर चौतारीमा बसौं, छिमेकीको घरमा मीठो खाना खाऊँ भनेर हिंड्नुभयो। यो राजनीति यात्राका क्रममा चल्छ, ठूलो कुरा मान्नु हुँदैन,” भट्टराईले भने, “देशको प्रधानमन्त्री, पार्टीको अध्यक्ष हुनुहुन्छ। केही मान्छेले पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकता भयो भन्नुभयो, आश्चर्यचकित छु।”
पार्टी अध्यक्षसँगै वार्ता समितिको संयोजक आफूलाई कुनै जानकारी नदिई पार्टी एकता गरिएको भन्नु भ्रमपूर्ण प्रचार भएको भट्टराईको भनाइ थियो। प्रधानमन्त्री दाहालले पार्टी एकता भनेर भ्रम फैलाएको जिकिर गर्दै भट्टराईले भने, “जालसाजीपूर्ण, भ्रमपूर्ण प्रचार गरियो।”
राजनीतिक पार्टी टुटफुट भइरहँदा जनतामा वितृष्णा बढाएको उनको भनाइ थियो। अहिले पनि ७० प्रतिशत केन्द्रीय सदस्य र दुईतिहाइ कार्यकारिणी समिति सदस्य आफूसँग रहेको भट्टराईले बताए।
पुराना राजनीतिक शक्तिसँग सहकार्य नहुने उनको भनाइ थियो। भट्टराईले आफू नयाँ अभियानमा होमिएको उल्लेख गर्दै दाहाल नेतृत्वको माओवादीमा नमिसिने बताए। उनले देश विकासका लागि प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक भएको जिकिर गरे।
नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले चैत ३ मा माओवादीसँग एकता गर्ने सहमति गरेको थियो।