गाजाका स्वास्थ्य संरचना र स्वास्थ्यकर्मीको सुरक्षाका लागि नेपाली चिकित्सकको आग्रह
इजरायलले गाजाका अस्पतालमा गरेको आक्रमणले बिरामी र स्वास्थ्यकर्मी खतरामा परेका छन् भने स्वास्थ्य अधिकारको हनन भइरहेको छ।
इजरायलले गाजाका स्वास्थ्य सेवा र संरचनामा गरिरहेको विध्वंसको विरोध गर्दै नेपाल आवासीय चिकित्सक महासंघले युद्धविरामका लागि आह्वान गरेको छ। महासंघले बुधबार विज्ञप्ति जारी गरी इजरायलले गाजामा निरन्तर आक्रमण गर्दै आएको र स्वास्थ्य संरचना तथा स्वास्थ्यकर्मीलाई योजनाबद्ध रूपमा लक्ष्यित गरेको भन्दै विरोध जनाएको हो।
चिकित्सा तटस्थताका सिद्धान्तलाई समर्थन गर्दै र खाँचोमा परेकालाई हेरचाह प्रदान गर्न समर्पित स्वास्थ्यकर्मीको जीवनरक्षाको माग गरिएको महासंघले जनाएको छ। इजरायली आक्रमणबाट अहिलेसम्म गाजामा ६९३ स्वास्थ्यकर्मीको ज्यान गएको छ। कैयौं अस्पताल क्षतिग्रस्त छन्। यसले जनशक्ति र स्रोतको अभाव झन् बढाएको उल्लेख गरिएको छ।
‘जेनेभा महासन्धि र अन्तर्राष्ट्रिय कानूनहरूले सशस्त्र द्वन्द्वको वेला स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई लक्ष्यित गर्न स्पष्ट रूपमा निषेध गरेको छ तर इजरायलले यसरी स्वास्थ्य संरचना र स्वास्थ्यकर्मीमाथि गरेको आक्रमणले सबै कानूनको उल्लंघन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता आक्रमणले बिरामी र स्वास्थ्यकर्मीको जीवन खतरामा पार्नुका साथै चिकित्सा तटस्थताका सिद्धान्तहरू र सबै व्यक्तिको मौलिक हक, स्वास्थ्यको अधिकारलाई पनि उल्लंघन गर्छन्।’
यससँगै महासंघले सरकार, अन्तर्राष्ट्रिय समुदाय, मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्था र स्वास्थ्य क्षेत्रसँग संलग्न संस्थालाई इजरायलले गरिरहेको गैरमानवीय आक्रमण विरुद्ध ठोस कदम चाल्न आह्वान गरेको छ।
महासंघका अध्यक्ष डा. सन्दीप ओखेदा, वीर अस्पतालको आवासीय चिकित्सक संघका अध्यक्ष डा. कपिल गौतम, पाटन अस्पतालका डा. दीक्षान्त आचार्य, डा. मनोज आचार्य र डा. भानुभक्त ढकालले जारी गरेको विज्ञप्तिमा गाजाका जनताप्रति ऐक्यबद्धता जनाउँदै द्वन्द्व प्रभावित क्षेत्रमा नागरिक र चिकित्सा संरचना तथा सेवाकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ।
यस्तो छ विज्ञप्ति