बेगारी गर्न हजार किसान चिसापानीमा
सयौं किसान बुधबार बिहान कर्णाली चिसापानी पुल नजिकै भेला भए। कुटो, कोदालो बोकेर बर्दियाका गाउँ गाउँबाट आएका किसान केही बेरको छलफलपछि कर्णाली नदी किनारतिर लागे। कोही ढुंगा बोक्न थाले, कोही ढुंगा मिलाउन थाले।
बर्दियाका किसान बर्सेनि कर्णाली नदी किनार पुग्छन्, बेगारी गर्न। “खेतबारीमा सिंचाइ गर्न बेगारी गर्न आएका हौं,” अगुवाइ गरिरहेका बरघर रामप्रसाद थारू भन्छन्, “बेगारी नगरी खेतमा पानी पुग्दैन।”
थारू भाषामा श्रमदानलाई बेगारी भनिन्छ। कुलो मर्मतसम्भार गर्न उनीहरू बेगारी गर्न आएका हुन्। बर्दियाका विभिन्न गाउँबाट एक हजारभन्दा बढी किसान आएको थारूले जानकारी दिए।
राज्यले सिंचाइको व्यवस्था नगर्दा वर्षौंदेखि यसरी नै दुःख गर्नुपरिरहेको उनी सुनाउँछन्। “वसन्त मकै र चैते धान रोप्ने समय आइसक्यो तर सिंचाइ छैन,” थारू भन्छन्, “कुलो मर्मत गरेर गाउँमा पानी पुर्याउन सबै आएका छौं।”
कर्णाली नदी किनारबाट गाउँसम्म पुग्न झन्डै २० किलोमिटर कुलो निर्माण गरिए पनि ठाउँ ठाउँमा भत्किएको छ। अहिले किसान कुलोको मुहान मर्मतमा जुटिरहेका छन्।
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसान अहिले चैते धान रोप्ने तयारीमा छन्। चैते धानका लागि सिंचाइको व्यवस्था नभएपछि बेगारीमा आएको गेरुवा गाउँका अगुवा दयाराम चौधरी सुनाउँछन्। “सिंचाइका लागि गाउँपालिका, प्रदेश सरकार, संघीय सरकारसँग बारम्बार अनुरोध गर्यौं, निवेदन दियौं,” चौधरी भन्छन्, “कसैले सुनुवाइ गरेन। बाध्य भएर परम्परागत कुलोकै भरमा खेतीपाती गरिरहेका छौं।”
बबई नदीबाट ढुंगा, गिट्टी, बालुवा निकासीले झन् समस्या भएको उनी बताउँछन्। पहिले बबई नदीबाट सिंचाइ गर्दै आएको भए पनि ढुंगा, गिट्टी, बालुवा निकासीले पानी लैजान गाह्रो भएको उनी सुनाउँछन्। “अहिले बबईमा पानी लग्ने ठाउँ सुक्खा छ, त्यसैले कर्णालीको पानी लग्नुपर्ने भयो,” चौधरी भन्छन्।
सबैले दुई-तीन दिन काम गरेपछि ७०० हेक्टर जमीनमा सिंचाइ पुग्ने उनी बताउँछन्। दुवै स्थानीय तहको १६ हजार हेक्टर जमीनमा सिंचाइको अभाव छ। “सिंचाइ नहुँदा अहिले चैते धानको खेतीपाती गर्न सकिएको छैन,” उनी भन्छन्।
गेरुवा गाउँपालिका-१ का वडाध्यक्ष कर्मप्रसाद चौधरी सिंचाइको समस्या समाधान गर्न दीर्घकालीन बृहत् सिंचाइ योजनाका लागि पहल भइरहेको बताउँछन्। विश्व ब्यांकको आर्थिक सहयोगमा सर्भे भइसकेकाले ४५ हजार हेक्टर जमीनमा सिंचाइ पुग्ने राजापुर सिंचाइ योजनालाई अगाडि बढाइएको उनी सुनाउँछन्।