डढेलोले क्षति भएपछि धरानको कोका खानेपानीको आपूर्ति बन्द
धरान उपमहानगरका मेयर हर्क साम्पाङको अगुवाइमा श्रमदान गरेर निर्माण गरिएको कोका खोला खानेपानी आयोजनाको पाइप डढेलोले क्षति हुँदा आपूर्ति बन्द भएको छ।
चैत ५ गते वराह क्षेत्रमा डढेलो लागेको थियो। डढेलोले कोका खोला खानेपानीको पाइप जलेको धरानको खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बताए। डढेलोले सात लाख रुपैयाँ बराबरको पाइप जलेको पोखरेलले जानकारी दिए।
डढेलो लागेको खबर पाएपछि बोर्डका कार्यकारी निर्देशक पोखरेल सहित टोली मर्मतका लागि गएको थियो। फेरि डढेलो लागेपछि थप क्षति भएको जनाएको छ। वराह क्षेत्रका बासिन्दा, वन उपभोक्ता समूहको टोली, सशस्त्र प्रहरीको टोलीले डढेलो निभाएका छन्।
मेयर साम्पाङको नेतृत्वमा धरानका हजारौं बासिन्दाले श्रमदान गरेर खानेपानी आयोजना सम्पन्न भएको थियो। करीब सात करोड रुपैयाँको लागतमा खानेपानी योजना तयार भएको थियो।
तर खानेपानीका पाइप जंगल क्षेत्रमा पनि खुलै राखिएका थिए। जसले गर्दा डढेलोले पाइपमा क्षति पुगेको जनाइएको छ।
कोका खोलाको पानी धरानका वडा नं. ११ र १७ मा आपूर्ति हुँदै आएको छ। डढेलोले क्षति भएपछि खानेपानी आपूर्ति बन्द भएको छ।
डढेलोबाट क्षति भएको ठाउँमा मर्मतसम्भारका लागि आजै टोली जाने पोखरेलले बताए। मेयर साम्पाङको नेतृत्वमा टोली जान लागेको उनको भनाइ छ।