सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि समिति बनाउन संसद्मा माग
सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्न नेपाली कांग्रेसले माग गरेको छ।
बुधबार प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरी न्यौपानेलाई बोल्न समय दिए।
सांसद लामिछानेले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठनको माग गरिन्। “सहकारीको रकम हिनामिना भएको छ, हिनामिना गर्नेमध्ये गृहमन्त्री रवि लामिछाने पनि हुनुहुन्छ,” सांसद न्यौपानेले भनिन्।
पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताले लामिछाने विरुद्ध पनि जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएका छन्। त्यसमाथि छानबिन हुन बाँकी नै छ।
त्यस्तै, पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिले पनि सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना भएको औंल्याएको छ। उक्त सहकारीबाट लामिछानेले पनि रकम लगेको पाइएको सांसद न्यौपानेले उल्लेख गरिन्।
त्यस्तै, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको पनि रकम हिनामिना गरिएको आरोप छ। त्यसमा तत्कालीन अध्यक्ष जीबी राई, सचिव दिपेश पुनसँगै लामिछानेले पनि रकम हिनामिना गरेको आरोप छ। यसमा दिपेश पक्राउ परेका छन्।
यही विषय उठाउँदै सांसद न्यौपानेले प्रश्न गरिन्, “उही मुद्दामा दिपेश पुन पक्राउ पर्ने, गृहमन्त्री पक्राउ नपर्ने? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने?”
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेमाथि अनुसन्धान गर्न आवश्यक नभएको जिकिर गरेका थिए। त्यसमा आपत्ति जनाउँदै सदस्य नभएको व्यक्तिले पैसा लिन नपाउने कानूनी व्यवस्था भएकाले लामिछानेले कसरी पैसा लिए भनेर प्रश्न गरिन्।
कांग्रेसले अर्को बैठकसम्म छानबिन समिति गठन गर्न माग गरेको छ। छानबिन समिति गठन नभए संसद् अवरुद्ध पार्ने चेतावनी दिएको छ।