बन्दीपुरको वैभव
कुनै समय ‘मृत शहर’ वा ‘भूत गाउँ’ उपनामले चिनिने बन्दीपुर अहिले ‘पहाडकी रानी’ का रूपमा पर्यटकीय आकर्षण बढाउँदै छ।
परम्परागत नेवारी वास्तुकला जोगाइराखेका घरहरू, स्लेट ढुंगा बिछ्याएको बाटो, नेवार, मगर, गुरुङ लगायत विभिन्न जातजातिको बस्ती। तनहुँको पुरानो सदरमुकाम बन्दीपुरको विशेषता हो यो।
तर बन्दीपुर यत्तिमै सीमित छैन। ‘पहाडकी रानी’ उपनामले चिनिन थालेको यस रमणीय स्थलमा रक क्लाइम्बिङ, प्याराग्लाइडिङ जस्ता साहसिक खेलको मजा समेत लिन सकिन्छ। बन्दीपुरबाटै सिद्ध गुफा र पातलेद्वार गुफाको अवलोकन, रामकोटदेखि बन्दीपुर बजार हुँदै कोरिखा पुग्ने अफरोड साइक्लिङ रूट, हाइकिङ गर्दै मनै लोभ्याउने सूर्योदय र सूर्यास्त अनि फराकिला हिमशृंखलाको अवलोकन गर्न पनि सकिन्छ।
यस्तै, थानीमाईको डाँडाबाट देखिने बन्दीपुर बजार र आसपासको ‘बर्ड आई भ्यू’, चैत-वैशाखमा जाँदा भेटिने काफल र ऐंसेलु, होमस्टेको ब्रेकफास्टमा चाख्न पाइने कोदोको रोटी बन्दीपुरको अमिट याद बन्न पुग्ने होटल संघ बन्दीपुरकी अध्यक्ष संगीता प्रधान बताउँछिन्।
भूत गाउँबाट पुनरुदय
बन्दीपुर करीब २०० वर्ष पहिले भक्तपुर र कीर्तिपुरबाट आएका नेवार समुदायले बसाएको बस्ती रहेको नेपाल सरकारको सहसचिवबाट अवकाशप्राप्त शिक्षाविद् स्थानीय दिनेश श्रेष्ठ बताउँछन्। त्यसैले पनि बन्दीपुरका घरहरू भक्तपुरे शैलीका छन्।
१८औं र १९औं शताब्दीमा बन्दीपुर भारत र तिब्बतबीचको एक महत्त्वपूर्ण व्यापारिक केन्द्र थियो। व्यापारीहरू कोलकाता जान, काठमाडौं र तिब्बतसँग व्यापार गर्न बन्दीपुरको बाटो प्रयोग गर्दथे। यस्तै, स्थल यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लमजुङ, गोर्खा र मनाङका लागि चितवनतर्फबाट सामान ल्याउने मुख्य व्यापारिक नाका बन्दीपुर नै रहेको विन्ध्यवासिनी होमस्टेकी सञ्चालिका शान्ति कुँवर बताउँछिन्।
२०२५ सालमा बन्दीपुरबाट तनहुँको सदरमुकाम दमौली सारियो। यसपछि भने बन्दीपुर सुनसान बन्यो। २०५० सालसम्म आइपुग्दा बन्दीपुर खण्डहर भइसकेको थियो। मानिसहरू यसलाई ‘मृत शहर’ समेत भन्थे, कतिपयले ‘भूत गाउँ’।
सन् २००५ बाट भने ‘बन्दीपुर इकोकल्चरल टुरिज्म प्रोजेक्ट’ अन्तर्गत बन्दीपुरको पुनरुत्थान शुरू गरियो। पर्यटक आकर्षित गर्न जीर्ण बनेका पुराना शैलीका घरलाई सिंगारियो। बजारबीचको बाटो र आसपासका गोरेटाहरूमा बन्दीपुरकै स्लेट ढुंगा बिछ्याइयो। उकालो, ओरालो बाटाहरूमा खुड्किला बनाएर हिंड्न सहज बनाइयो।
बन्दीपुर बजारमा सवारीसाधन प्रवेशमा बन्देज छ। ललितपुरवासी पर्यटन उद्यमी दिलेन्द्र श्रेष्ठ लगायतले इकोटुरिज्म परियोजना अन्तर्गत बजारको विशेषता मूल सडकलाई मोटरमुक्त क्षेत्र बनाउँदा पर्यटन फस्टाउँछ भनेका थिए। रैथाने बासिन्दा तथा नारायणघाट/काठमाडौं पलायन भएका व्यापारिक घरानाका उत्तराधिकारीलाई त्यो कुरा जँच्यो। र, आज आएर समस्त नेपाल पहाडकै लागि नमूना बस्ती बनेको छ, बन्दीपुर (दीक्षित कनकमणि, ‘पुराना बस्तीहरूको नमूना- बन्दीपुर’, हिमालखबर, मंसीर ४, २०७४)
अहिले बन्दीपुर ‘मृत शहर’ वा ‘भूत गाउँ’ को उपनामबाट मुक्त भइसकेको छ। बन्दीपुर ‘पहाडकी रानी’ भनेर पर्यटकीय स्थलका रूपमा ख्याति कमाउँदै छ।
संस्कृतिको संगम
मगर भाषामा ‘बन’ को अर्थ जंगल र ‘डी’ को अर्थ पानी हो। जंगलबाट आएको पानी भन्ने अर्थ लाग्ने गरी बन्डीपुर कहन थालिएको यो ठाउँ पछि अपभ्रंश हुँदै बन्दीपुर हुन पुगेको स्थानीयहरू बताउँछन्।
बन्दीपुरमा नेवार सहित मगर, गुरुङ, ब्राह्मण लगायतका जातजातिको बसोबास छ। यी सबै जातजातिको सांस्कृतिक संग्रहालयका रूपमा समेत बन्दीपुर चिनिने गरेको शिक्षाविद् श्रेष्ठ बताउँछन्।
त्यसैले त बन्दीपुरमा लाखे नाँच, डोको नाच सहित विभिन्न जात्राको मजा लिन सकिन्छ। चुड्का, कौरा, सोरठी, मारुनी र झ्याउरे भाकाहरूमा रमाउन पाइन्छ। दशैंको फूलपातीका दिन खड्गदेवीको शोभायात्रा, नयाँ वर्षको दिन बिस्केट जात्रासँगै पुतलीको बिहे, साउनमा सिद्धगुफामा बोलबमको मेला, रामनवमीमा पातलेद्वार गुफामा मेला लाग्छ।
बन्दीपुरको ऐतिहासिक पक्ष पनि उल्लेख्य छ। मणि मुकुन्देश्वरी गढी, चन्द्रकोट गढी र हुस्लाङकोट गढीले बन्दीपुरको इतिहास बोकेका छन्। बन्दीपुरमा सेन राजाहरूले पनि शासन गरेका थिए। मणि मुकुन्द सेन दरबारको भग्नावशेष बन्दीपुर नजिकैको थुम्कामा अझै पनि छ। त्यस थुम्कामा जानका लागि पछिल्लो समय मणि मुकुन्द सेन पदमार्ग नै निर्माण गरिंदै छ। यो ‘मिनी ग्रेटवाल’ नामले समेत चिनिएको छ।
राणाकालमा बन्दीपुर बजारको पश्चिममा रहेको थुम्को टुँडिखेलमा पश्चिम ३ नम्बर बाहिनी अड्डा बनाइएको थियो। टुँडिखेलबाट हिमालय पर्वत, मर्स्याङ्दी नदीको नागबेली रूप र आसपासका उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। टुँडिखेलबाटै गोरखा दरबार, लिगलिगकोटको दरबार, लमजुङको राइनासकोट, फराकिला हिमशृंखलाहरू देख्न सकिन्छ।
बन्दीपुर बजार प्रवेश गर्ने बित्तिकै पुरानो दरबार जस्तै एउटा घर देखिन्छ। चन्द्रगोपाल प्रधानले विसं १९८५ मा ३२ हजार चाँदीको मोरु खर्च गरेर उक्त घर बनाएको स्थानीयहरू बताउँछन्। तत्कालीन समयमा दरबार जस्तो घर बनाएकै कारण राणाहरूले चन्द्रगोपाललाई पक्राउ गरी ३०५ चाँदीको मोरु जरिवाना तिराएका थिए।
राणाहरूको अवरोधका कारण नौ तला बनाउने योजना रहेको उक्त घरको निर्माण सात तलामै रोकियो। पछि दुई तला पुरेर हाल पाँच तला कायम गरिएको छ।
होटल र होमस्टे
बन्दीपुरमा ७० भन्दा बढी होटलहरू छन्। ती होटलले एकै पटक एक हजार जनासम्मलाई सेवा दिन सक्ने होटल संघ बन्दीपुरकी अध्यक्ष प्रधान बताउँछिन्।
बन्दीपुरका प्रायः होटल पारिवारिक सदस्य आफैंले सञ्चालन गरी स्वरोजगारको माध्यम बनेको उनी बताउँछिन्। केही होटलले भने अन्य जनशक्तिलाई समेत रोजगार दिएका छन्।
बन्दीपुरमा २०६८ सालबाट सामुदायिक होमस्टेहरूको प्रचलन आएको पाइन्छ। बन्दीपुर गाउँपालिकाभित्र १२ वटा होमस्टे दर्ता भएका छन् भने बन्दीपुर बजार क्षेत्रमा चार होमस्टे रहेको कुँवर बताउँछिन्। बन्दीपुर सामुदायिक होमस्टे (साविकको चण्डेनी पीपलथोक होमस्टे) पहिलो होमस्टे रहेको उनी बताउँछिन्। उक्त होमस्टेले सफलता प्राप्त गरेपछि बजार क्षेत्र र आसपासका गाउँमा होमस्टे स्थापनाको लहरै चलेको उनको भनाइ छ। “कोरिखा र धरमपानीको होमस्टेमा गुरुङ संस्कृतिमा रमाउन पाइन्छ,” कुँवर भन्छिन्, “मगर संस्कृति बुझ्न रामकोट जानुपर्छ।”
अहिले विमलनगर, तीनधारा, नारायण टोल, मोहोरिया, टुँडिखेलमा पनि होमस्टे खुलेका छन्। बालबालिका तथा विद्यार्थीमैत्री बनाउन यी होमस्टेलाई धूमपान निषेधित क्षेत्र बनाइएको छ।
आन्तरिक पर्यटक होमस्टेमा एक-दुई दिनभन्दा बढी बस्दैनन्। तर विदेशीहरू बन्दीपुरको इतिहास, संस्कृति अध्ययनका लागि अलि बढी समय बस्ने गरेको कुँवरको अनुभव छ।
पछिल्लो समय भने गण्डकी प्रदेश सरकारले सरकारी कर्मचारीलाई भ्रमण तथा कार्यक्रममा जाँदा उपलब्ध भएसम्म होमस्टेमै बस्नुपर्ने नियम बनाएकोमा भने कुँवर लगायत होमस्टे सञ्चालक खुशी छन्।