साझा संकल्प : नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीति अघि बढाइने
सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायत नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ।
सत्तारूढ पाँच राजनीतिक दलले आज सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा यस्तो प्रयास अघि बढाउने उल्लेख छ। ‘नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतालाई थप सुदृढ बनाउने; लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायत नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने; सीमाको प्रभावकारी व्यवस्थापन गर्ने,’ भनी साझा संकल्पमा उल्लेख छ।
यस्तै, नेपालको हित संरक्षण र प्रवर्द्धन हुने गरी विद्यमान सन्धिसम्झौताको पुनरावलोकन गर्ने, आवश्यकता अनुसार नयाँ सन्धिसम्झौता गर्ने तथा द्विपक्षीय तथा बहुपक्षीय संस्थामा आबद्धता वृद्धि गर्ने पनि साझा संकल्पमा उल्लेख छ।