२१ वर्षअघि साथीको हत्या गरी फरार भएका अभियुक्त पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-४ बस्ने ४१ वर्षीय तेजबहादुर राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार उनी २०५९ सालमा सञ्जय शाहीको हत्या गरी फरार भएका थिए।
काठमाडौं महानगरपालिका-१९, मरुढोका, इनाटोलमा रहेको एक पशु वधशालामा मापसे गरी झगडा पर्दा राईले शाहीको हत्या गरेको प्रहरीले जनाएको छ।
हत्याका योजनाकार १६ वर्षपछि पक्राउ
यस्तै, अपराध अनुसन्धान कार्यालयकै टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धादिङको गंगाजमुना नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२६, ढोलाहिटी बस्ने ४१ वर्षीया सविता थापा (अधिकारी) रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
रेग्मीका अनुसार २०६४ असार २६ गते ललितपुर महानगरपालिका-२२, शंखमूल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरिएको हो।
मीनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक धर्मराज विष्टलाई थापाको योजनामा उनका भाइ विनोद थापा सहित तीन जनाको समूहले कुटपिट गरी सख्त घाइते बनाएको थियो। घाइते विष्टको उपचारका क्रममा मृत्यु भएको थियो।
थापालाई सोमबार ललितपुर महानगरपालिका-२६, ढोलाहिटीबाट पक्राउ गरी आज आवश्यक कारबाहीका लागि जिल्ला अदालत, ललितपुर बुझाइएको प्रवक्ता रेग्मीले बताए।