यूएई पठाएर अलपत्र पार्ने मेनपावरलाई सात दिनभित्र उपस्थित हुन निर्देशन
युवाहरूलाई वैदेशिक रोजगारीमा यूएई पठाई अलपत्र पार्ने मेनपावरलाई वैदेशिक रोजगार विभागले लिखित जवाफ सहित उपस्थित हुन निर्देशन दिएको छ।
क्लीनरको कामका लागि यूएई पठाएको तर कामदार करारनामा अनुसारको काम, तलब र अन्य सेवासुविधा नपाउँदा १९ युवा अलपत्र परेको खबर सार्वजनिक भएपछि विभागले मंगलबार मेची इन्टरन्याशनल ओभरसिज प्रालि, काठमाडौंलाई सात दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन पत्राचार गरेको हो।
अलपत्र पर्नेमध्ये खोटाङको जन्तेढुंगा गाउँपालिका-५, चिसापानीका पर्शुराम राई र राजकुमार राईको उद्धारका लागि उनीहरूका आफन्तले गत चैत ४ गते जिल्ला प्रशासन कार्यालय, खोटाङमा निवेदन दिएका थिए। जिल्ला प्रशासन कार्यालयले सो निवेदन वैदेशिक रोजगार विभागमा पठाएपछि विभागले मेनपावरलाई लिखित जवाफ सहित उपस्थित हुन निर्देशनात्मक पत्र पठाएको हो।
कानून अधिकृत अजित केशरीले लेखेको पत्रमा ‘वैदेशिक रोजगार ऐन, बमोजिम संस्थाको करारको दायित्व पूरा गरेको वा करारमा उल्लिखित शर्त पूरा गराउन आवश्यक र उपयुक्त कारबाही/पहल गरेको तथा ऐन बमोजिम क्षतिपूर्ति दिनुनपर्ने कुनै कारण र आधार भए सोलाई पुस्ट्याइँ गर्ने प्रमाण सहित उपस्थित हुन’ भनिएको छ।
कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा राजकुमार र पर्शुराम सहित सुर्खेतका भविष्य जिसी, पाल्पाका देवसिं सुनारी, उदयपुरका किशोर खत्री, गुल्मीका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, नवलपरासीका सुनील श्रेष्ठ, मोरङका करन सरदार, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, दैलेखका मनबहादुर शाही, झापाका मिस्रीलाल दास, धादिङका तिलकबहादुर सुनार, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल, नुवाकोटका लाक्पा तामाङ र कपिलवस्तुका मनोज थारू अलपत्र परेको समाचार गत चैत १ गते सार्वजनिक भएको थियो। यीमध्ये राजकुमार र पर्शुराम सहित आठ युवा हप्ता दिनदेखि दुबई क्लक टावरमा कामविहीन भोकभोकै बसिरहेका छन्।
१९ युवालाई फरक फरक मितिमा युनिक स्टार जेनरल सेक्युरिटी गार्ड सर्भिस र नूर अल अफसा जेनरल क्लिनिक सर्भिस कम्पनीमा लगिएको थियो। तर सम्झौतापत्रमा उल्लेख भएको कम्पनीमा नलगी ‘सप्लाई’ मा फरक फरक काममा लगाउने, नियमित काम नदिने र गरेको कामको पैसा समयमा नदिएपछि नेपाली युवा अलपत्र परेका हुन्।
यस्तै, सेक्युर नेपाल जब प्लेसमेन्ट प्रालिबाट यूएई पुगेका खोटाङका संगम मगर सहितका पाँच युवा देरा दुबई भन्ने ठाउँमा बसिरहेका छन्। उनीहरू एजेन्टलाई रु.दुई लाख २० हजारसम्म बुझाएर यूएई पुगेका थिए।