फागुनमा आयात बढ्यो, व्यापार घाटा रु. नौ खर्ब २९ अर्ब
विगत महीनाहरूको तुलनामा फागुनमा विदेशबाट मालसामानको आयात बढेको छ।
यस आर्थिक वर्षको असोज महीनालाई छोड्ने हो भने अरू महीनाको तुलनामा फागुनमा धेरै आयात भएको हो। भन्सार विभागका अनुसार फागुनमा नेपालले रु.एक खर्ब ३२ अर्ब २७ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ।
विगतका महीनाहरूको औसतका तुलनामा फागुनमा झन्डै चार अर्ब बढीको सामान आयात भएको देखिन्छ। यसले अर्थतन्त्रमा माग र उपभोग बढ्न थालेको संकेत गरेको छ। व्यवसायीले गत आर्थिक वर्षदेखि नै बजारमा माग खस्किएका कारण अर्थतन्त्र मन्दीमा गएको तर्क गर्दै आएका छन्।
यस आर्थिक वर्षमा सबैभन्दा धेरै असोजमा रु.एक खर्ब ४८ अर्ब बराबरको आयात भएको थियो। दशैंतिहार लगायत चाडलक्ष्यित उपभोग्य सामग्रीका कारण असोजमा आयात बढेको थियो। तर साउनयताका अधिकांश महीनामा आयात रु.एक खर्ब ३० अर्बभन्दा कमै थियो।
नेपालको अर्थतन्त्र आयातमा आधारित छ। वस्तुको आयात बढ्दा सरकारको राजस्व आम्दानी मात्रै बढ्दैन, कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को पनि विस्तार हुन्छ। कुल गार्हस्थ्य उत्पादनका मुख्य क्षेत्रहरूमध्ये एउटा थोक र खुद्रा व्यापार पनि हो। यद्यपि वस्तु आयात बढ्दा देशको सञ्चित विदेशी मुद्रा घट्दै जान्छ। आयात धेरै हुने तर निर्यात कमजोर हुँदा देशको शोधनान्तर स्थितिमा पनि चाप पुग्छ।
भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म नेपालले रु.१० खर्ब ३० अर्ब बराबरको वस्तु आयात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा २.६६ प्रतिशत थोरै हो। यस अवधिमा नेपालको निर्यात भने रु.एक खर्ब ६१ करोड मात्रै छ। निर्यात पनि गत वर्षको तुलनामा ३.९९ प्रतिशतले घटेको हो।
यस अवधिमा नेपालले वैदेशिक व्यापारमा रु.नौ खर्ब २९ अर्ब घाटा बेहोरेको छ।
साउनदेखि फागुनसम्म नेपालले रु.एक खर्ब ७३ अर्बको कृषिजन्य वस्तु आयात गरेको छ। यसमध्ये रु.३२ अर्ब २९ करोडको अन्न, रु.२१ अर्ब २० करोडको तरकारी, रु.१४ अर्ब ७४ करोडको फलफूल छ।
साउनदेखि फागुनसम्म नेपालले रु.दुई खर्ब १४ अर्बको पेट्रोलियम पदार्थ, रु.८६ अर्ब ८१ करोडको फलाम, रु.६७ अर्ब ६९ करोडको विद्युतीय मशिन, रु.४८ अर्ब १० करोडको सवारीसाधन आयात गरेको छ।