रवि लामिछानेको हकमा अनुसन्धान गर्नुनपर्ने भन्दै प्रहरीबाट ‘ब्रिफिङ’ भएको थियो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न नपर्ने भन्दै प्रहरीबाटै ‘ब्रिफिङ’ भएको बताएका छन्।
गृहमन्त्री लामिछानेमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका प्रतिपक्षी दलहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा संसद्मा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। “एक पटक अनुसन्धान सकिएर अदालतमा दायर भइसकेको मुद्दामा यस्तो आधार प्रमाण विनाको जाहेरी सामान्यतः पुनः दर्ता गर्न आवश्यक नै हुँदैन। त्यसैले प्रहरीले कानून बमोजिम नै उक्त जाहेरी छुट्टै दर्ता गर्न समेत उपयुक्त ठानेन र दर्ता गरेन,” प्रधानमन्त्री दाहालले भने, “फेरि उहाँको नाममा प्रवाह भएको भनिएको ऋण फर्स्योट भएको देखिन आएकाले उहाँको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीबाट ‘ब्रिफिङ’ पनि प्रस्ट शब्दमा भएको थियो।”
उनले यो घटना लामिछाने सरकारमा सहभागी हुनुअघिको भएको पनि बताए। “त्यति वेलाको सरकारमा त अहिलेको प्रतिपक्ष नेपाली कांग्रेस समेत सहभागी थियो,” उनले भने।
सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताको रकम हिनामिना प्रकरणमा मूल उजुरी परेको ६ महीनापछि माघ १६ गते कास्की जिल्ला प्रहरीमा रवि लामिछाने समेत १८ व्यक्ति र कम्पनीलाई विपक्षी बनाई पूरक जाहेरी दिइएको तर उक्त जाहेरीमा लामिछाने सहकारी हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण पेश नगरिएको पनि उनले बताएका छन्।