यूएईमा अलपत्र युवाहरूको उद्धारका लागि निवेदन
यूएईमा अलपत्र परेका दुई युवाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, खोटाङमा निवेदन परेको छ।
कामदार करारनामा अनुसारको काम, तलब र अन्य सेवासुविधा नपाएर अलपत्र परेका जन्तेढुंगा गाउँपालिका-५, चिसापानीका पर्शुराम राई र राजकुमार राईको उद्धारका लागि चैत ४ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको हो।
राजकुमार र पर्शुराम क्रमशः गत माघ २७ र फागुन ११ गते एजेन्टलाई जनही एक लाख ९० हजार तिरेर यूएई पुगेका थिए। उनीहरू काठमाडौंको मेची इन्टरन्याशनल ओभरसिज प्रालि मार्फत सफाइ सम्बन्धी कामका लागि यूएई पुगेका थिए।
उनीहरूलाई युनिक स्टार जेनरल सेक्युरिटी गार्ड सर्भिस र नूर अल अफसा जेनरल क्लिनिक सर्भिस कम्पनीमा लगिएको थियो। तर ‘सप्लाई’ मा फरक फरक काममा लगाउने, नियमित काम नदिने र गरेको कामको पैसा समयमा नदिएपछि उनीहरू अलपत्र परे। अलपत्र युवाको उद्धारका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको समन्वय र सहयोगमा आफन्त प्रशासन पुगेका थिए। अहिले निवेदनलाई वैदेशिक रोजगार विभागमा पठाइसकिएको खोटाङका प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले बताए।
कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा राजकुमार र पर्शुराम सहित सुर्खेतका भविष्य जिसी, पाल्पाका देवसिं सुनारी, उदयपुरका किशोर खत्री, गुल्मीका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, नवलपरासीका सुनील श्रेष्ठ, मोरङका करन सरदार, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, दैलेखका मनबहादुर शाही, झापाका मिस्रीलाल दास, धादिङका तिलकबहादुर सुनार, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल, नुवाकोटका लाक्पा तामाङ र कपिलवस्तुका मनोज थारू अलपत्र परेको समाचार गत चैत १ गते सार्वजनिक भएको थियो।
पर्शुरामका दाजु रत्नकुमार राई एजेन्टले कतिपयलाई फर्जी कागजपत्र बनाएर यूएई पुर्याएको बताउँछन्।
यस्तै, नेपाली युवा अलपत्र परेको विषयमा खोटाङबाट निर्वाचित प्रदेश सभा सांसद भूपेन्द्र राईले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कर्ण कटुवाल र मेनपावर व्यवसायी राजकुमार चौधरीलाई राखेर चैत ४ गते काठमाडौंमा छलफल चलाएका थिए। छलफलमा चौधरीले तत्काल समस्याको हल गर्ने प्रतिबद्धता जनाएको प्रदेश सांसद राईले बताए।