खैंजडी, पञ्चे र धिमेमा मौलाएको महिला सहभागिता
खैंजडी भजन, पञ्चे र धिमे बाजामा बढिरहेको महिला सहभागिता संस्कृति संरक्षण सहित सामाजिक रूपान्तरणमा पनि सहयोगी भइरहेको छ।
हेटौंडा उपमहानगरपालिका-५ निवासी ५५ वर्षीया भगवती दाहालले औपचारिक शिक्षा पाइनन्। तर उनलाई रामायण, देवी भागवत, कृष्ण चरित्र, गुणरत्नमाला लगायतका खण्डहरू मुखाग्र छन्।
“घरैमा दाजुहरूले पढेको हेरेर अक्षर चिनें, बाह्रखरी चिन्न थालेपछि बुबाको किताब लुकीलुकी पढ्ने कोशिश गर्थें,” भगवतीले बाल्यावस्था स्मरण गर्छिन्। भगवतीका बुबा रामजी गौतम भजन पनि गाउँथे। गाउँमा पूजा छ, भजन गाइँदै छ भन्ने सुन्नासाथ भगवती र उनकी दिदी कामधन्दा सकेर बुबाभन्दा अघि नै पुगिहाल्थे। “हामी हतारिंदै काम भ्याएर पुग्थ्यौं बुबाभन्दा अघि नै, सुटुक्क बसेर सुन्थ्यौं त्यहींबाट रस पसेछ,” उनी भन्छिन्।
हुन पनि भगवतीले अहिले बुबाकै बिंडो थाम्दै आएकी छिन्। गाउँघरका पूजापाठमा रामायण, महाभारत, कृष्ण चरित्र, गुणरत्नमाला जस्ता कथालाई श्लोकका रूपमा भट्याउँछिन् उनी। वातावरण दिवस, श्रमिक महिला दिवस, लैंगिक हिंसा विरुद्धको अभियान जस्ता जनचेतनामूलक कार्यक्रमहरूमा पनि उनी शब्द भरेर श्लोक बनाउँछिन्। रुद्रेश्वर महादेव खैंजडी भजन समूहका अरू सदस्यहरू बाजा बजाउँदै भगवतीलाई साथ दिन्छन्। यो १० सदस्यीय समूह महिलाहरूको मात्रै हो। लोप हुँदै आएका खैंजडी भजनमा महिलाहरूले चासो दिएपछि रुद्रेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले पनि सहयोग गर्दै आएको छ।
व्यवस्थापन समितिका पूर्व अध्यक्ष बालचन्द्र दुलाल पुरुषहरूको छुट्टै नौ सदस्यीय भजन समूह भए पनि अहिले महिला टोलीकै बढी चर्चा भएको बताउँछन्।
महिला समूहले खैंजडी प्रस्तुति दिएको निश्चित शुल्क पनि लिंदैनन्। नजिकै कार्यक्रमहरू निःशुल्क गरे पनि टाढाको बाटो जानुपर्दा र रातभर प्रस्तुति दिनुपर्दा भने यातायात र केही दक्षिणा लिने गरेको समूहकी नेतृत्वकर्ता विष्णुकुमारी कार्की बताउँछिन्। “हामीले तोकेर नै शुल्क राखेका छैनौं, टीका दक्षिणामा दिएको लिने गरेका छौं,” उनी भन्छिन्।
यो टोलीले हार्मोनियम, झ्याली, मादल लगायत वाद्ययन्त्र र साउन्ड सिस्टम समेत आफू आफू पैसा उठाएर किनेका हुन्। केही सामग्री भने हेटौंडा उपमहानगरपालिकाबाट केही महीनाअघि मात्रै सहयोग उपलब्ध गराएको दुलालले बताए।
अहिले खैंजडी भजन सिक्न चाहनेहरूको संख्या पनि बढ्दो छ। बालबालिकाहरू समेत आकर्षित छन्।
पञ्चे बाजामा पनि महिलाको अग्रसरता
हेटौंडा-१ की ४५ वर्षीया रुक्मिणी खत्री अहिले पञ्चे बाजा सहित शुभकार्यहरूमा उपस्थित हुन थालेकी छिन्। निजामती कर्मचारी समेत रहेकी ५१ वर्षीया शान्तादेवी लौडारी यो समूहमा नरसिंहा फुक्छिन्। खत्रीकी कान्छी बुहारी संगीता पनि यो समूहमा छिन्। यो पञ्चे बाजा समूह अहिले मकवानपुरमा चर्चित छ।
यी महिलालाई हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडाले जिल्लामा पहिलो पटक पञ्चे बाजा बजाउने तालीम दिएको थियो। उपमहानगरका प्रवक्ता समेत रहेका वडा नम्बर १ का अध्यक्ष सबिन न्यौपाने यी महिलाहरूको पौरख अहिले सामाजिक रूपान्तरणको जग बनेको बताउँछन्। “सीपले मनोरञ्जन मात्रै होइन आर्थिक पाटोमा पनि जोड दिन्छ, साथै संस्कृति संरक्षणमा पनि सहयोग पुग्छ,” न्यौपाने भन्छन्।
समूहकी वाद्यवादक तथा वडा नम्बर १ की वडासचिव लौडारी पञ्चे बाजा बजाउन कुनै जात वा समुदायको हुनुनपर्ने बताउँछिन्। “महिलालाई घर मात्रै उसको संसार हो भनेर अल्झाउनु हुँदैन,” उनी भन्छिन्।
यो समूहले आफ्नो प्रस्तुति अनुसार ३० देखि ५० हजारसम्म शुल्क लिने गरेको छ।
धिमे बाजामा पनि लगाव
नेवार समुदायको धिमे बाजामा पनि अहिले महिलाहरूको लगाव बढ्दो छ। नेवाः गुठीः खलका अध्यक्ष अनिल खड्गी धिमे बाजामा किशोरीहरूको चाख बढ्न थालेको बताउँछन्। हरेक पर्व, जात्रा र मेलामा बजाइने धिमे बाजाका लागि पनि प्रशिक्षण आवश्यक भएको खड्गी बताउँछन्।