माओवादी बैठकले गरेन महरालाई निलम्बन
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले सुन तस्करीको आरोपमा पक्राउ परेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्न सकेन।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बिहान बसेको बैठकमा प्रहरीले सोमबार महरालाई पक्राउ गरेको विषयमा छलफल भए पनि कुनै निर्णय नभएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
सापकोटाले महरालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिटै निष्कर्षमा पुगिने बताए। नियमित बैठक बसेर महराको सम्बन्धमा एउटा धारणा सार्वजनिक गरिने उनको भनाइ छ।
बैठकपछि सञ्चारकर्मीसँग उनले भने, “छलफल जारी छ। विभिन्न कोणबाट हामी छलफल गरिरहेका छौं। छिटै निष्कर्षमा पुग्छौं।”
बैठकमा सहभागी पार्टीका एक नेताले भने महराको विषयमा माओवादी पदाधिकारी विभाजित भएपछि कुनै निष्कर्षमा पुग्न नसकेको बताए।
यस्तै, बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र महराको संलग्नताबारे ब्रिफिङ गरेका थिए।
चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका महरा अहिले नर्भिक अस्पतालमा भर्ना भएका छन्।
यसअघि भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पनि सभापति शेरबहादुर देउवाले निलम्बन गर्न दिएका थिएनन्। त्यही प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी भने पार्टीको निलम्बनमा परेका छन्।