साहित्यकार परशु प्रधानको निधन
साहित्यकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ।
गएराति काठमाडौंको बानेश्वरस्थित निवासमा साहित्यकार प्रधानको निधन भएको हो। उनको आजै बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।
२००० सालमा भोजपुरमा जन्मिएका प्रधानले १६ वर्षकै उमेरमा लेखन शुरू गरेका थिए। नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका प्रधानले कविता र कथा लेखेका छन्।
उनको पहिलो कृति जीवन पथ कवितासंग्रह २०१६ सालमा प्रकाशन भएको थिए। पहिलो कथाकृति सबै बिर्सिएका अनुहारहरू २०२५ मा प्रकाशित थियो। अहिलेसम्म उनका १३ वटा कथासंग्रह प्रकाशित छन्।
कथाकार प्रधानका बक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानका उत्कृष्ट कथा, नेप्लिज लभ स्टोरी र धनियाँ कथासंग्रह प्रकाशित छन्।