बाग्लुङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुग्यो, २८ जना घाइते
बाग्लुङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ भने २८ जना घाइते भएका छन्।
पूर्वी रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ बाग्लुङको निसीखोला गाउँपालिका-६, जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो। दुर्घटनामा सात जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका प्रहरी नायब उपरीक्षक मदन केसीले बताए।
दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुन मगर, पश्चिम रुकुमको मुसिकोट-१ की २७ वर्षीया विनीता केसी, मुसिकोट नगरपालिका-२, रातामाटाका बसधनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका-४, सोलाबाङकी ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका-३, साँखकी कल्पना केसी र रोल्पाका बस चालक सुवास गौतम भनिने मानसिंह विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले बताए।
त्यस्तै, गोर्खाकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्वको सिस्ने गाउँपालिका-५, रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको केसीले जानकारी दिए।
घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उनले बताए। दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ।
घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बाग्लुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको छ। बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बाग्लुङमा ‘रेफर’ गरिएको हो।
घाइते हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ का ५२ वर्षीय दशरथ नेपाली, ३० वर्षीय छकेन्द्रजंग सेन, आठबिसकोट नगरपालिका-१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मीको मदाने गाउँपालिका-१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ का ६५ वर्षीय हर्कबहादुर केसी, बोतलिवाङ-७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मीको मालिका गाउँपालिका-१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुम पश्चिमका २२ वर्षीय टीकाराम विक, लक्ष्मी पुन मगर, बोतलिवाङ-११ की २२ वर्षीया सविना पुन मगर र रुकुम पश्चिमका ३८ वर्षीय हेमराज केसी छन्।
त्यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ का २४ वर्षीय गणेश खड्का, काठमाडौंको टोखा नगरपालिका-३ की २३ वर्षीया सृष्टि गैरे, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-३ का २८ वर्षीय आविष्कार धराला, रुकुम पश्चिमको मुसिकोट-३ की २७ वर्षीया सरिता खड्का, ज्ञानु ढकाल, ललितपुर महानगरपालिका-१४ की २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट-४ की ४६ वर्षीया विना शर्मा, ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुन मगर, ५५ वर्षीया लीला केसी, ३० वर्षीय शशीराम खड्का, १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका-३ का ६० वर्षीय हर्कबहादुर जीसी, सानोभेरी गाउँपालिका-१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका-१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका छन्।