काठमाडौं जाँदै गरेको बस बाग्लुङमा दुर्घटना, सात जनाको मृत्यु
रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको बस बाग्लुङमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस बाग्लुङको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा सोमबार साँझ दुर्घटना भएको हो। दुर्घटनामा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।
प्रहरी निरीक्षक विकका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन्। घाइतेको उद्धार जारी रहेको उनले बताए।
बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो। बस सडकबाट करीब ३०० मिटर तल खसेको प्रहरी निरीक्षक विकले जानकारी दिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।