घरपरिवारले उपभोग गर्ने सुविधामा के फेरबदल आयो?
पछिल्लो एक दशकमा मुलुकका नागरिकको आवास तथा घरायसी सुविधामा उल्लेख्य फेरबदल आएको देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ का विस्तृत प्रतिवेदनहरू सार्वजनिक गरिरहेको छ। कार्यालयले चैत ४ मा घरपरिवारको विभिन्न आर्थिक आयाम समेटिएको प्रतिवेदन सार्वजनिक गरेको हो।
तथ्यांक अनुसार देशका ८९.५ प्रतिशत परिवार पक्की घरमा बस्ने गरेका छन्। त्यस्तै, आठ प्रतिशत अर्धपक्की घरमा बस्ने गरेको देखिएको छ।
बितेको दशकमा आवासीय भवनमा ठूलो परिवर्तन आएको छ। जनगणना २०६८ अनुसार देशका घरमध्ये १८ प्रतिशत घरको मात्रै जग सिमेन्ट जडान भएको ढुंगा/इँटाले बनेकोमा २०७८ सालमा आइपुग्दा ३० प्रतिशत पुगेको छ।
घरको छानाको बनोट अनुसार हेर्दा २०७८ सालमा नेपालका करीब ८० प्रतिशत परिवारले प्रयोग घरको छाना जस्तापाताले छाएका अथवा आरसीसी ढलान गरी बनाइएको देखिएको छ। एक दशकअघि घरको छानो जस्तापाता वा आरसीसी ढलान हुने परिवार ५१ प्रतिशत हाराहारीमा मात्रै थिए।
पछिल्लो एक दशकमा नेपालका घरपरिवारले प्रयोग गर्ने सुविधाका साधनमा पनि व्यापक वृद्धि भएको देखिएको छ। देशका ३.१ प्रतिशत घरपरिवारसँग अहिले चारपांग्रे गाडी छ। एक दशकअघि १.६ प्रतिशत परिवारसँग मात्रै चारपांग्रे गाडी थियो।
त्यस्तै, २७.३ प्रतिशत परिवारसँग मोटरसाइकल वा स्कूटर छ। २०६८ सालमा देशका ९.५८ प्रतिशत परिवारसँग मात्रै मोटरसाइकल वा स्कूटर थियो। यसले एक दशकमा मोटरसाइकल वा स्कूटर हुने परिवार तेब्बर भएको देखाउँछ।
अहिले १५ प्रतिशत परिवारमा कम्प्युटर वा ल्यापटप, २३.७ प्रतिशत परिवारमा रेफ्रिजेरेटर, ७२.९४ प्रतिशत परिवारमा स्मार्टफोन, ३७.७२ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा पुगेको छ।
त्यसैगरी, ४.२ प्रतिशत घरपरिवारसँग लुगा धुने मशिन (वाशिङ मशिन) रहेको पनि तथ्यांकले देखाएको छ।
एक दशकको अवधिमा शौचालय, विद्युत् जस्ता सुविधामा पनि व्यापक विस्तार भएको छ। २०६८ सालमा ६१.८ प्रतिशत परिवारले मात्रै शौचालय प्रयोग गर्ने गरेकोमा अहिले यो संख्या विस्तार भएर ९५.५ प्रतिशत पुगेको छ। त्यसैगरी, एक दशकअघि ६७.३ प्रतिशत परिवारमा मात्रै रहेको बिजुलीको पहुँच २०७८ सालमा ९२.२ प्रतिशत पुगेको छ।
अहिले ५१ प्रतिशत घरपरिवारले दाउराबाट र ४४.३ प्रतिशत परिवारले ग्यास (एलपीजी)बाट खानेकुरा पकाउने गरेको देखिएको छ। २०६८ सालमा ६४ प्रतिशत परिवारले दाउराबाट र २१ प्रतिशत परिवारले ग्यासबाट खानेकुरा पकाउने गरेको तथ्यांक थियो।
चारपांग्रे सवारी, मोटरसाइकल, वाशिङ मशिनजस्ता सुविधा भएका परिवार धेरैजसो ललितपुर, भक्तपुर, काठमाडौं, कास्की, रुपन्देही, चितवन लगायत जिल्लाका भएको तथ्यांकले देखाएको छ।
काठमाडौं उपत्यकाका दुईमध्ये एक परिवारसँग मोटरसाइकल वा स्कूटर छ। त्यसैगरी, झापा, सुनसरी, सिरहा, कपिलवस्तु, मोरङ, नवलपुरका तीनमध्ये एक परिवारसँग मोटरसाइकल सुविधा छ।
ललितपुर र काठमाडौंका दशमध्ये एक परिवारसँग गाडी छ। परिवार संख्याका आधारमा धेरै गाडी हुने जिल्लामा भक्तपुर, कास्की, चितवन, पाल्पा, झापा, मुस्ताङ लगायत छन्।