कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अनुमति
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन सोमबार जिल्ला अदालत, काठमाडौंमा पेश गरेको थियो। अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) भूपेन्द्र बोगटीले बताए।
महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको थियो। पक्राउ पर्ने सूचना पाएपछि उनी भारततिर भाग्न लागेका थिए।
पूर्व सभामुख समेत रहेका महराले काठमाडौं छोडेको सूचना पाएपछि प्रहरीले सीमानाकामा कडाइ गरेको थियो। उनी सोमबार बिहान भैरहवा नाका भएर भारततिर जाने तयारीमा थिए। उनलाई कपिलवस्तुबाट काठमाडौं ल्याएर सीआईबीको जिम्मा लगाइएको थियो।
सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। यही प्रकरणमा पक्राउ परेका महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा छन्।