सुन तस्करीमा पक्राउ परेका पूर्व उपराष्ट्रपतिका सल्लाहकारलाई धरौटीमा छोड्न आदेश
सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपतिका सल्लाहकार जीवन गुरुङलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत, काठमाडौंले सोमबार धरौटीमा छोड्न आदेश दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो। सुन तस्करीमा संलग्न रहेको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ। उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार थिए।
सुन तस्करी प्रकरणमै प्रहरीले सोमबार नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको छ। उनलाई भागेर भारत जान लाग्दा पक्राउ गरिएको हो।