दीपक मनाङेले लिए भौतिक पूर्वाधारमन्त्रीको शपथ
गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले शपथ लिएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार मन्त्री गुरुङलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गुरुङले आइतबार नेकपा (एकीकृत समाजवादी) त्यागेको घोषणा गरेका थिए। त्यससँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज उनलाई मन्त्री बनाएका हुन्।
उनी २०७९ सालको निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद निर्वाचित भएका थिए। पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।
एकीकृत समाजवादी नयाँ गठबन्धनमा सहभागी भएपछि उनले पार्टी त्यागेको बताएका थिए। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनलाई गण्डकीमा बहुमत जुटाउन मुश्किल छ। जसले गर्दा गठबन्धनमा बसिरहँदा मध्यावधि चुनावमा जानुपर्ने बाध्यता हुने उनको तर्क छ। मध्यावधि चुनावमा जान नदिन एकीकृत समाजवादी त्यागेको उनले बताएका थिए।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन्।