अर्धस्वचालित हतियार सहित दुर्गा प्रसाईंका अंगरक्षक पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक अर्धस्वचालित हतियार सहित पक्राउ परेका छन्।
सर्वोच्च अदालत परिसरबाट प्रसाईंका अंगरक्षक दीपक खड्कासँगै राजकुमार धिमाललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए। “निषेधित क्षेत्रमा हतियार सहित प्रवेश गरेकाले पक्राउ गरिएको हो,” खत्रीले भने।
प्रहरीका अनुसार पक्राउ परेका खड्का मेडिकल व्यवसायी प्रसाईंका अंगरक्षक हुन्। उनी अर्धस्वचालित हतियार बोकेर सर्वोच्च अदालत परिसर पुगेका थिए।
अर्धस्वचालित हतियारसँगै १०० राउन्ड गोली पनि बरामद गरिएको छ। खड्काले बोकेको हतियार जिल्ला प्रशासन कार्यालय, झापाबाट अनुमतिप्राप्त भएको पाइएको छ।
अनुमतिप्राप्त भए पनि हतियार बोकेर निषेधित क्षेत्रमा गएकाले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाले बताए। “अनुमतिप्राप्त भए पनि कुन प्रयोजनका लागि कहाँसम्म जाने भन्ने हुन्छ,” थापाले भने, “किन निषेधित क्षेत्रमा हतियार बोकेर गए भनेर अनुसन्धान भइरहेको छ।”