एमाले मधेश सरकारमा जाने, मन्त्रिपरिषद् पुनर्गठनको तयारी
नेकपा (एमाले) सरकारमा जान सहमत भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन्।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भए पनि मधेश प्रदेशमा नेपाली कांग्रेस सरकारबाट हटेको छैन। कांग्रेसबाट तीन जना मन्त्री छन्।
उनीहरूलाई हटाएर एमालेका तीन जनालाई मन्त्री बनाउने तयारी भइरहेको छ। अहिले कांग्रेसको भागमा रहेका मन्त्रालयलाई नै एमालेलाई दिन लागिएको जनाइएको छ।
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कार्यभार ग्रहण नगरेका कारण सरकार विस्तारमा ढिलाइ भएको थियो। प्रदेश प्रमुख भण्डारीले सोमबार कार्यभार ग्रहण गरेसँगै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन्।
मुख्यमन्त्री यादवले हिमालखबरसँगको संक्षिप्त कुराकानीमा तत्कालै मन्त्रिपरिषद् पुनर्गठन गरिने बताए। “संघमा बन्ने गठबन्धन नै प्रदेशमा समेत बन्ने गरेकाले संघीय गठबन्धनको आधारमा मधेशमा पनि मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,” यादवले भने, “आजभोलिमा मन्त्रिपरिषद् पुनर्गठन गछौं, एमालेसँग छलफल भइरहेको छ।” एमालेबाट मन्त्रीको नाम आउने बित्तिकै जिम्मेवारी दिइने उनको भनाइ छ।
एमाले नेताहरूका अनुसार भौतिक पूर्वाधार मन्त्रालयमा सरोजकुमार यादवलाई पठाउने तयारी गरिएको छ। त्यस्तै, राजकुमार लेखी, शत्रुधन सिंह कोइरी र मोहम्मद समिरलाई मन्त्री बनाउने तयारी भइरहेको छ। केही नाममा विवाद आएका कारण परिवर्तन हुन सक्ने एक नेताले बताए।
मुख्यमन्त्री यादवले सोमबार नै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका थिए। तर एमालेबाट मन्त्रीको नाम टुंगो लाग्न बाँकी छ। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि एक-दुई दिनभित्रै टुंगो लगाएर मन्त्रिपरिषद् पुनर्गठन हुने बताए।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमाले-माओवादी गठबन्धनमा सहभागी छैन। तैपनि मुख्यमन्त्री यादवले लोसपाका मन्त्रीलाई नहटाउने भएका छन्। लोसपाबाट एक जना मन्त्री छन्।
१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका सभामुख सहित २४, जसपाका १९, माओवादीका नौ र नेकपा (एकीकृत समाजवादी)का सात सांसद छन्। गठबन्धनमा रहेका दलको बहुमत छ।