भागेर भारत जान लाग्दा समातिए महरा
नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा भारततिर भाग्न खोज्दा सीमा क्षेत्रबाट समातिएका छन्।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले चैत १ गते प्रतिवेदन बुझाएसँगै महराले चलखेल शुरू गरेका थिए।
गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन पढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए। त्यसको भोलिपल्ट प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएका थिए। प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री लामिछानेले माओवादी उपाध्यक्ष महराका विषयमा पनि कुराकानी गरेको स्रोतले जनाएको छ।
त्यसपछि महरा भाग्न खोजेका थिए। उनले काठमाडौं छोडेको खबर प्रहरीमा पुगेको थियो। “काठमाडौं छोडेको र भारततिर भाग्न लागेको खबर आइतबार आएको थियो,” प्रहरी उच्च स्रोतले हिमालखबरलाई भन्यो।
त्यसपछि प्रहरीले सबै सीमानाकामा कडाइ गरेको थियो। देशभरका सीनानाकामा आइतबार दिउँसोबाटै प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले नाकामा कडाइ गरिरहेको चाल नपाएका महरा सोमबार बिहान भैरहवा नाका भएर भारततिर भाग्ने तयारीमा थिए। “भैरहवा नाका भएर भारत भाग्न खोज्दा सीमा क्षेत्रबाट समातेका छौं,” प्रहरी उच्च स्रोतले भन्यो। भैरहवा नजिकै कपिलवस्तुको सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पूर्व सभामुख समेत रहेका महरालाई सोमबार पक्राउ गरिएको प्रहरी महानिरीक्षक वसन्त कुँवरले पुष्टि गरिसकेका छन्। महरालाई आजै काठमाडौं ल्याउन लागिएको छ।
विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेर ल्याएको आरोपमा महराका छोरा राहुल विरुद्ध मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ।
सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो। त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो। तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो।
महरा पटक पटक विवादमा आइरहन्छन्। यसअघि चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। त्यसमा पनि उनीमाथि अनुसन्धान भएको थिएन।